हुलाकी न्यूज,काठमाडौंः अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार नागरिकको जीवन र जीविका रक्षा दुवैलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ।
कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणबाट नागरिक जोगाउन स्वास्थ्य सेवा पुर्याउने र नागरिक जीविकाको आधार रोजगारी तथा उद्यम व्यवसाय पुनस्र्थापनामा सरकार दत्तचित्त भएर लागेको उहाँले बताउनुभयो।
नेपाल आर्थिक पत्रकार सङ्घको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री पौडेलले सबै नागरिकलाई प्राथमिकताका आधारमा कोभिड विरुद्धको खोपको व्यवस्था गरिने जानकारी दिनुभयो । १४ वर्ष नाघेका सबै नागरिकलाई प्राथमिकताका आधारमा खोप पुर्याउने गरी सरकारले ध्यान केन्द्रित गरेको छ”, उहाँले थप्नुभयो, “गुणस्तरीय, सहज र सस्तो खोप खरिद, पर्याप्त स्रोत व्यवस्थापन गर्न सबै संयन्त्र परिचालन गर्नेछौंँ ।”
कोरोना महामारीका कारण अर्थतन्त्र प्रभावित भएको तर सुधारका सङ्केत देखिन थालिसकेको उहाँको भनाइ छ । महामारी र बन्दाबन्दी प्रभावित उद्यम व्यवसाय पुनरुत्थान र नयाँ सिर्जना गर्न सरकारले विभिन्न राहत तथा सहुलियतका कार्यक्रम ल्याएको भन्दै उहाँले त्यसको सदुपयोग गर्न र लाभ लिन निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
मन्त्री पौडेलले नयाँ सहुलियत तथा राहतमुखी योजना ल्याइने जानकारी दिनुभयो । उहाँले सरकार निजी क्षेत्रलाई साथ लिएरै अगाडि बढ्ने हो, निजी क्षेत्रका आवश्यकता तथा रचनात्मक र अत्यावश्यक सुझाव सरकारले कार्यान्वयन गर्नेछ भन्नुभयो । अबको समय उत्पादन क्षेत्र विस्तार गर्नु अपरिहार्य रहेको भन्दै मन्त्री पौडेलले यस क्षेत्रमा उत्साह र आत्मविश्वासका साथ काम गर्नु र आवश्यक सहजीकरण गरिने उल्लेख गर्नुभयो ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोभिडका कारण पूर्वानुमान गरिए जस्तो भयावहको प्रभाव अर्थतन्त्रमा नपरेको भन्दै कतिपय सूचक सोचेभन्दा सकारात्मक देखिएको जानकारी दिनुभयो । “आयात घटेको छ, बाह्य क्षेत्रको अवस्था राम्रो छ,” उहाँले भन्नुभयो, “जुन खालको त्रास सोचेका थियौँ, अवस्था त्यति बिग्रेको छैन, तरलता पर्याप्त छ, लगानी विस्तार गर्न सहज हुनेछ ।”
उहाँले अबका दिनमा कोभिड सुरक्षाका मापदण्ड पालना गरेर उद्यम व्यवसायलाई पूणर् गतिमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आयकरमा छुट दिन, भ्याटको दर घटाउने जस्ता कार्यबाट निजी क्षेत्रको प्रवद्र्धन गर्न सकिने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासङ्घ लगायतका छाता सङ्गठनले व्यावसायिक हित र मुलुकको अर्थतन्त्र सुधारमा एकमत भएर लाग्ने बताउनुभयो। गोरखापत्र




