हुलाकी न्यूज,चितवन :पर्यटकलाई आकर्षित गर्न चितवनको नारायणी नदी किनारलाई ‘सी–बिच’ का रूपमा विकास गरिने भएको छ।
भरतपुर महानगरपालिकाले गौरव आयोजनाका रूपमा ‘सी–बिच’ निर्माण आयोजना अगाडि ल्याएको हो।
देशकै मध्य भागमा पर्ने नारायणी नदी किनारलाई आकर्षक पर्यटकीय गन्तव्य विकास गर्ने योजना अनुसार काम अगाडि बढेको महानगर प्रमुख रेणु दाहालले जानकारी दिनुभयो।
“लामो समयदेखिको प्रयास कार्यान्वयनको चरणमा आएको छ। हामी एकपछि अर्को गर्दै भरतपुरको विकासमा ‘सी–बिच’ मोडल ल्याएका हौँं,” नगरप्रमुख दाहालले भन्नुभयो। यो मोडलले महानगरकै मात्र नभई चितवनकै गौरव र आर्थिक गतिविधि बढाउने दाबी उहाँले गर्नुभयो।
पर्यटन विभागले महानगरको गुरुयोजना अनुसार प्रारम्भिक चरणको कामका लागि झण्डै छ करोड रुपियाँ लागतमा डेढ वर्षभित्र काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरेको छ । यो ‘सी–बिच’ दुुई हजार चार सय मिटर पैदल मार्ग, दुुई ठाउँमा पार्किङ स्थल र बगैँचा निर्माण गरिने छ। नारायणी नदी किनारका लागि महानगरले यसअघि नै २३ करोड रुपियाँको लागत सहितको गुरुयोजना निर्माण गरेकोे थियो ।
गत वर्ष महानगरपालिकाले करिब एक करोड रुपियाँको लागतमा नदी किनारमा टायल बिछ्याउने काम सम्पन्न भइसकेको छ। नारायणी नदी किनारमै सडक सहितको तटबन्धको कामसमेत चलिरहेको छ।पछिल्लो समय नारायणी नदी किनारमा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ।
यहाँ मोटरबोटमा सयर गर्दै रमाउनेको सङ्ख्या पनि उत्तिकै छ। यसले पर्यटक बढाउने महानगरले विश्वास लिएको छ।
नारायणगढ बजार नजिकै रहेको नारायाणी नदी किनारमा अहिले पनि एक दर्जन साना मोटरबोट सञ्चालनमा रहेको छ। यहाँ हरेक वर्ष ठूूला मेला तथा महोत्सव लाग्दै आएको छ। यही स्थानलाई ‘सी–बिच’का रूपमा अगाडि बढाउन लागिएको हो। हरेक दिन यहाँ दुई हजारभन्दा बढी व्यक्ति घुम्न आउने गरेका छन्।