हुलाकी न्यूज,काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकारको सम्मान, संरक्षण र संवद्र्धन एवं कार्यान्वयनलाई सुनिश्चित गर्न सबैको योगदान आवश्यक रहेको बताउनुभएको छ।

स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा ७२औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रपतिले दिनुभएको शुभकामना सन्देशमा यस्तो विचार व्यक्त गर्नुभएको हो।

सन् १९४८ डिसेम्बर १० तारिखमा विश्वव्यापी मानव अधिकार घोषणापत्र जारी भएको दिनलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका रूपमा प्रत्येक वर्ष मनाइने गरिन्छ।

मानव अधिकारका विषयहरू अविभाज्य रहने र तिनको अन्तर्राष्ट्रिय आयाम हुने मान्यतालाई नेपाललगायत संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रले स्वीकार गरेका छन्। नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा संवद्र्धन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च महìवका साथ अङ्गिकार गरेको छ।

समावेशीकरणको नीतिद्वारा सबै वर्ग र समुदायका सीमान्तकृत नागरिकलाई राज्यको मूलधारमा समाहित गर्न पनि संविधानले मार्ग प्रशस्त गरेको छ।आधारभूत मानव अधिकारको प्रवद्र्धन र कार्यान्वयनका लागि संवैधानिक आयोग तथा विभिन्न निकाय क्रियाशील छन । सन्देशमा राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘‘संविधानद्वारा प्रत्याभूत गरिएका मौलिक अधिकारको प्रभावकारी कार्यान्वयनबाट नै न्याय र समानतामा आधारित सामाजिक, आर्थिक व्यवस्था कायम भई समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न सकिन्छ।’’  गोरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.