वृजराज कुशवाहा, नवलपरासी, १३ कार्तिक । नवलपरासीमा पुर्वगृहराज्यमन्त्री तथा नेपाली कांग्रेसका सभापति देवेन्द्रराज कंडेलमाथि शुक्रबार दिउँसो सांघातिक हमला भएको छ ।
निजी निवास महेसपुरबाट खेतीवारी हेर्न जाने क्रममा बडहरा दुबौलिया ३ ललितपुरमा कंडेलमाथि गोली हान्ने प्रयास भएको छ ।
सीमापारीबाट भारतीय मोटरसाईकल युपी ५३ र ९८५६ नम्बरमा आएका दुई जना हतियारधारीले कंडेललाई ताकेर गोली हान्ने प्रयास गरेका थिए । रिवल्वर निकाल्दै गरेको अवस्थामा कंडेलका सुरक्षा गार्डले दुबैलाई समातेका थिए ।
कंडेल स्थानीय सदिक कुजणाको घरमा भलाकुसारी गरिरहेको बेला मोटरसाईकलमा आएका उनीहरुले रिवल्वर ताकेका थिए ।
गोली हान्न खोज्ने दुबैजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महेसपुर नजिकै भारतीय बजार ठुठीबारीका ४२ वर्षीय उज्जवल गडतौला र ४५ वर्षीय जोगेन्द्र पटनवार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका नायब उपरिक्षक अर्जुन रानाभाटले बताएका छन् । उनीहरुको साथबाट होममेड रिवल्वर र त्यसमा लोड गरिएको ६ राउण्ड गोली बरामद गरिएको छ । आक्रोसित स्थानीयवासीले मोटरसाईकलमा आगजनी गरी नष्ट गरिदिएका छन् ।
दुबैलाई हिरासतमा राखेर अनुसन्धान भैरहेको नवलपरासी प्रहरीले जनाएको छ ।



