रमेश ठाकुर, रौतहट, १३ कार्तिक । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर सरकारले मधेशी मोर्चासँग गरेको वाचा पुरा गरेन भने वार्ताको औचित्य समाप्त हुने बताएका छन् ।

रौतहटको सदरमुकाम गौरमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले सरकारले विना कुनै ठोस प्रस्ताव मधेशी मोर्चालाई पटक पटक वार्ताको लागि बोलाएर नाटक मात्र गरेको आरोप लगाए । उनले अब बस्ने १५ गतेको वार्ता निर्णायक हुने जनाएका छन् ।

अध्यक्ष ठाकुरले १५ गतेको वार्तामा पनि आफ्नो वाचा अनुरुप सरकारले कुनै ठोस प्रस्ताव नल्याए वार्ताको औचित्य समाप्त हुने चेतावनी दिएका छन् ।

संविधान संशोधन गर्ने विषयमा दुई तिहाई बहुमतको आवश्यक्ता पर्ने भएकाले वार्तामा सरकारी टोलीले नेपाली कांग्रेसलाई पनि समेट्नुपर्ने उनको भनाई छ । अध्यक्ष ठाकुरले पहिलेको वार्ता टोलीमा नेपाली कांग्रेसको सहभागिता रहेको र उसकै नेतृत्वमा संविधान संशोधन प्रस्ताव दर्ता भएकाले पनि वार्ता टोलीमा कांग्रेसको उपस्थिति आवश्यक रहेकोमा जोड दिए । नेपाली कांग्रेस बिना संविधान संशोधनका लागि बहुमत नपुग्ने भएकोले पनि कांग्रेसको आवश्यक्ता रहेको अध्यक्ष ठाकुरले बताए ।

पेट्रोलियम पदार्थका लागि नेपाल सरकारले चीनसँग गरेको सम्झौताका बारेमा बोल्दै अध्यक्ष ठाकुरले नेपाल स्वतन्त्र देश भएकोले जहाँबाट पनि जेसुकै ल्याउने सम्भौता गर्न सक्ने तर वर्तमान परिवेशमा मधेश आन्दोलन दबाउने नियत राखी पेट्रोलियम पदार्थ आपुर्तिको सम्झौता गरिएको हो भने त्यो सरासर गलत भएको र उक्त नाकाहरु पनि छिट्टै नै आदिवासी जनजातिहरुसँग सहकार्य गरि बन्द गर्ने चेतावनि दिए ।

शनिवार जनकपुरमा बस्ने मधेशी मोर्चाको बैठकले आन्दोलनको स्वरुप फेरिने समेत अध्यक्ष ठाकुरले बताएका छन् । लामो समय देखि मधेशमा जारि आन्दोलनप्रति एक्यबद्धता जनाउँदै आन्दोलनमा होमिएका सम्पुर्ण मधेशी नागरिकलाई धन्यवाद दिँदै अध्यक्ष ठाकुरले मांग पुरा नभएसम्म मिलेर अगाडि बढ्न सबैलाई सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.