हुलाकी न्यूज,काठमाडौँ : भारतमा भएको २१औँ विश्व पावर लिफ्टिङमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी कर्णाली प्रदेश सुर्खेतकी चेली श्रुति कार्कीले दुई स्वर्णपदक जितेकी छन्।
भारतको महाराष्ट्रस्थित अमरावतीमा भएको विश्व पावर लिफ्टिङ च्याम्पियनमा कार्कीले ५५ केजी तौल समूहमा स्वर्णपदक जितेकी हुन्।
सोमबार भएको फाइनलमा नेपालले ३ स्वर्ण र एक रजत जितेको छ । मंसिर १९ गतेदेखि २२ गते (डिसेम्बर ४–७) सम्म सञ्चालन भएको पावर लिफ्टिङ वर्ल्र्ड कप–२०२० मा नेपालका तर्फबाट सहभागिता जनाउने श्रुति एक्ली महिला हुन्।
श्रुतिसँगै नेपालका हसन गुरुङ र आशिष आलेमगरले एक–एक स्वर्ण जितेका छन्। राजेश सुवालले एक रजत पदक जितेका छन्। ओभरहलमा श्रुतिले व्यक्तिगततर्फ थप एक स्वर्ण जितेकी छन्।
सुर्खेतको वीरेन्द्रनगर–६ निवासी श्रुतिले कर्णाली खेलकुदको क्षेत्रमा पनि पछि भन्नेका स्वर्णपदक जितेर देखाएकी सुर्खेत जिल्ला फुटबल संघको उपाध्यक्ष प्रमोद हमालले बताए।
‘कार्कीले कर्णालीबाट नेपालको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय स्तरमा नेपाल र कर्णालीलाई चिनाएकी छन्,’ हमालले भने, ‘सरकारले यस्ता प्रतिभाको आत्मबल बढाउनका लागि पनि उचित सम्मान गर्नुपर्छ ।’
कर्णालीमा खेलकुद पूर्वाधार र संरचना कमजोर हुँदाहुँदै पनि खेलाडीले अन्तर्राष्ट्रिय पदक जितिरहेको अवस्थामा पूर्वाधार निर्माण भएको अवस्थामा यहाँको खेलकुद अन्य प्रदेशभन्दा राम्रो हुने उनको भनाइ छ।
कार्कीसहित नेपाली खेलाडीको हौसला बढाउन एसियन पावर लिफ्टिङ फेडेरेसनका उपाध्यक्ष जीवन गिरी, सहसचिव एवं म्यानेजर प्रशिक्षक केदारमान स्थापित सहभागी थिए। प्रतियोगितामा सहभागी हुन श्रुति मंसिर १७ गते भारत गएकी थिइन् । श्रुति पर्सि (२५ गते) नेपाल फर्किने कार्यक्रम छ।