हुलाकी न्यूज, काठमाडौं : नेपालमा हालसम्म झन्डै दुई लाख मानिस कोरोना संक्रमणमा परेर निको भइसकेका छन् । थप हजारौं जना निको हुने क्रममा छन् । कोरोनाको लहर दोहोरिए पुनः संक्रमित भइने हो कि भन्ने चासो उनीहरूमा पाइन्छ।

अनि यो चासो अहिलेसम्म संक्रमित नभएकाहरूको पनि हो । युरोप तथा अमेरिकामा कोरोनाको लहर फर्किरहँदा यहाँ पनि चासो–चिन्ता देखिनु अस्वाभाविक होइन । के नेपालमा कोरोनाको दोस्रो लहर निम्तेला त ?

कोरोनाको दोस्रो लहर के हो भनेर निश्चित वैज्ञानिक परिभाषा त छैन । तर संक्रमणको दर उत्कर्षमा पुगेर नगण्य संख्यामा झर्नु, नियन्त्रण हुनु र फेरि केहि समयको अन्तरालमा अत्यधिक संख्यामा देखिनुलाई यस्तो रूपमा बुझ्ने गरिएको छ । सन् १९१८ तिर देखिएको ‘स्पेनिस फ्लु’को नामले चिनिने भाइरसको दोस्रो लहरमा बढी मानिसको मृत्यु भएको तथ्य पाइन्छ । कोरोना र फ्लु दुई फरक भाइरस भए पनि कतै कोरोनाको लहर दोहोरिइरहने हो कि भन्ने भय विश्वमै देखिन्छ । थप मानवीय क्षति नहोस् भनेर खोपलाई मुख्य विकल्पका रूपमा लिइएको र कतिपय देशले द्रुत गतिमा यसको विकास गरिरहेका पनि छन् । कतिपय देशले त आपत्कालीन प्रयोगका लागि हाल उपलब्ध खोपहरू (कम्तीमा ट्रायलको तेस्रो चरण पार गरिसकेका) लाई स्वीकृति पनि दिइसकेका छन् । नेपालले पनि खोप ल्याउने हरसम्भव प्रयास सुरु गरिसकेको छ ।

दोस्रो लहरबारे अनुमान गर्नुअघि युरोप तथा अमेरिकामा किन, कसरी र कस्तो अवस्थामा कोरोनाको लहर दोहोरियो भनेर बुझ्न जरुरी हुन्छ । युरोपमा दोस्रो लहर विशेषतः स्पेनबाट फैलिएको अनुमानसहितको अनुसन्धानमूलक लेख प्रकाशित भएको छ । युरोपमा कोरोना संक्रमणको पहिलो लहर कम हुनेबित्तिकै स्पेनले आफ्नो देश पर्यटकका लागि खुला गरेको थियो भने मानिसको आवतजावत पनि सहज बनाएको थियो । न्युयोर्क टाइम्सका अनुसार जुलाई तथा अगस्ट महिनामा मात्र स्पेन प्रवेश गर्नेको संख्या लगभग चार मिलियन (४० लाख) जति थियो । उनीहरूलाई कोरोना परीक्षण तथा क्वारेन्टिन अनिवार्य गरिएको थिएन । बेल्जियमले पनि कोरोना परीक्षण तथा क्वारेन्टिनको व्यवस्था गरेको थिएन । स्पेन भ्रमण गरेका पर्यटकले आफ्नो देशमा समेत संक्रमण फैलाएका कारण कोरोनाको दोस्रो लहर युरोपमा फैलिएको भन्दै त्यहाँका अनुसन्धाताले जिनको विश्लेषण गरेका थिए । त्यस क्रममा जिनको बनावट नयाँ देखिएको थियो । यसलाई २०एईयू१ नाम दिइएको छ । यो नयाँ प्रकृतिको कोरोना भाइरस युरोपेली देशहरूमा दोस्रो लहर फैलाउने कारक मानिएको छ । बेलायत र स्विट्जरल्यान्डमा देखिएको दोस्रो लहरमा यो प्रकृतिको भाइरसको हिस्सा ८० र ५० प्रतिशतसम्म पाइएको थियो । संक्रमितको संख्या पहिलोभन्दा दोस्रो लहरमा बढी भएको तथ्यांक छ । नेचर जर्नलमा प्रकाशित लेखअनुसार केही समयअगाडि मात्र डेनमार्कको कृषि फार्ममा ‘क्लस्टर ५’ नाम दिइएको मिंक (जनावर) मार्फत झन्डै ३ सय कृषकमा फैलिएको कोरोना भाइरसले संक्रमण बढाएको थियो । यसले विश्वमै तरंग ल्याइदिएको थियो । यसको मुख्य चिन्ता भनेको मानिसबाट मानिसमा सर्न सक्ने सम्भावना र हाल विकास भइरहेको खोपका लागि दिन सक्ने चुनौती थियो । यद्यपि यो अनुसन्धानको पाटो रहेको छ । मिंक पालन गर्ने अरू देशमा समेत ‘क्लस्टर ५’ म्युटेसनको कोरोना देखिएको भनिए पनि ती देशमा यो भाइरसका कारण कृषक र अन्य मानिस संक्रमित भए/भएनन् भन्ने अहिलेसम्म यकिन छैन।

अमेरिका, टेक्सासको ह्युस्टन महानगरपालिकामा कोरोना भाइरसका दुई लहर देखिएपछि त्यसको कारण खोज्न अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धान अमेरिकी सोसाइटी फर माइक्रोबायोलोजीको ‘एमबायो’ जर्नलमा प्रकाशित भएको थियो । त्यहाँ मार्च पहिलो सातातिर कोरोना संक्रमण देखिन सुरु भई अप्रिलको मध्यतिर उत्कर्षमा पुगी मेको मध्यतिर पहिलो लहर सकिएको थियो । तर लगत्तै दोस्रो लहर देखिएको थियो । उक्त अनुसन्धानले ‘स्पाइक प्रोटिन’ मा देखिएको म्युटेसन (जसलाई डी६१४जी भनेर चिनिन्छ) पहिलोमा भन्दा दोस्रो लहरमा बढी र व्यापक रहेको देखाएको थियो । दोस्रो लहरमा युवा उमेरका र खासै दीर्घरोग नभएकाहरू बढी संक्रमित भएका थिए । यो अनुसन्धानलाई सरसर्ती हेर्दा दोस्रो लहर तीव्र र छोटो अवधिमा फैलनुको कारणमा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ देखिन्छ ।

हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा देखिँदै आएको कोरोना भाइरसको नमुनाको जिन ‘सिक्वेन्सिङ’ गरिएको जनाएको छ । नमुनाहरू फरक ठाउँ, लिंग, उमेर र समूहबाट लिइएको भनिएको छ । नेपालमा देखिएको कोरोना भाइरस भारत र साउदी अरबमा देखिएको कोरोनासँग मिल्दोजुल्दो रहेको निष्कर्ष निकालिएको छ । नेपालीहरूको आवतजावत पनि यिनै देशमा हुने हुँदा यो स्वाभाविक नै देखिन्छ । तर यी दुईमध्ये कुनचाहिँ भाइरसको कारणले संक्रमितको मृत्यु भयो वा भइरहेको छ भनेर सार्वजनिक गरिएको छैन ।

परिषद्ले असार महिनामा नमुना संकलन गरिएको जनाएको छ तर कोरोना भाइरसको तीव्रता पछिल्लो केही महिनामा बढी देखिएको छ । माथि उल्लेख गरिएका देशमा झैं कतै नेपालमा अहिले रहेको कोरोना भाइरसको जिन बदलिएर फैलने गतिमा तीव्रता आएको त होइन ? यसबारे अध्ययन हुनुपर्छ ।

युरोप तथा अमेरिकामा देखिएको भन्दा फरक जिनको भाइरस नेपालमा नहोला भन्न सकिँदैन किनभने नेपालमा महिनौंदेखि कोरोना भाइरस प्रसारण भइरहेको छ । समय अन्तरालमा भाइरसको जिनमा प्राकृतिक रूपमै परिवर्तन भइरहेको हुन्छ । जिनमा परिवर्तन हुँदै जाँदा संक्रमण दर बढ्न गई कोरोनाको दोस्रो लहरको सम्भावना नकार्न सकिँदैन । तसर्थ भाइरस ‘सिक्वेन्सिङ’लाई समय–अन्तरालमा निरन्तरता दिन सके संक्रमणको उतारचढाव, प्रसारणको क्षमता र हुन सक्ने मानवीय क्षतिको अनुमान गर्न सहज हुनेछ ।

कोरोना भाइरसको दोस्रो लहर नेपालमा आउँछ/आउँदैन भनेर अहिले नै ठोकुवा गर्न त सकिँदैन । तर एकबाट अर्को ठाउँसम्मको सहज पहुँच, जनस्वास्थ्य मापदण्डको बेवास्ता र भाइरसमा हुने जिन परिवर्तनका कारण अर्को लहर नआउला भन्न सकिने अवस्था पनि छैन। कान्तिपुर

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.