ल्याटिन अमेरिकी देश अर्जेन्टिनामा कोरोनाभाइरस महामारीबीच एक नयाँ सम्पत्ति कानुन पास गरिएको छ।
यो कानुन पारित भएसँगै अब त्यहाँ पूँजीपतिमाथि विशेष कर लगाइएको छ।
त्यहाँको सरकारले यसरी धनीहरुबाट लिइएको करलाई प्रयोग गरेर गरिबहरुलाई अतिआवश्यक वस्तु दिने बताएको छ।
त्यहाँ शुक्रबार सिनेटमा लखपतीमाथि कर भन्ने विशेष कानुन ल्याइएको हो । यसको पक्षमा त्यहाँ ४२ सांसद थिए भने विपक्षमा २६ सांसदले मत हाले।
यो कानुनअनुसार अहिले त्यहाँ पहिलो पटक यस्तो कर लगाइएको हो। यो कानुनअनुसार अब त्यहाँ २० करोड पेसो अर्थात् करिब २९ करोड नेपाली रुपैयाँभन्दा धेरै सम्पत्ति हुनेले विशेष कर तिर्नु पर्छ । त्यहाँ १२ हजारभन्दा धेरै मानिससँग योभन्दा धेरै सम्पत्ति भएको मानिएको छ।
अर्जेन्टिना कोरोनाका कारण विश्वमा सबैभन्दा प्रभावित देशमध्ये एक हो। त्यहाँ अहिलेसम्म कोरोनाका कारण १५ लाख मानिस संक्रमित भएका छन् भने ४० हजारले ज्यान गुमाएका छन्।
सरकारले यसरी उठाएको करलाई विभिन्न शीर्षकमा गरिबलाई बाँड्ने बताएको छ।
एजेन्सी