हुलाकी न्यूज,बारा : बारामा मापदण्ड बिपरीत सञ्चालनमा रहेको ६ वटा औषधी पसल तथा क्लिनिक बन्द गरिएको छ।

महागढीमाई नगरपालिकाको बरियारपुर बजारमा औषधी बिक्रीवितरण तथा स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा बनेका ऐन नियमहरुको पालना नगरी खोलिएकाले ६ वटा औषधी पसल तथा क्लिनिक बन्द गरिएको औषधी व्यवस्था विभागको वीरगञ्ज कार्यालयले जनाएका छन्।

प्राथमिक स्वास्थ्य सेवा क्लिनिक, गोविन्द हेल्थ क्लिनिक, कुशवाह भेट फर्मा, सपना स्वास्थ्य क्लिनिक, तरुण भेट फर्मा र ठाकुर सर्जीकल बन्द गरिएको औषधी व्यवस्था विभागको वीरगञ्ज कार्यालयका निमित्त प्रमुख भाग्यनारायण सिंहले जानकारी दिएका हुन्।

जिल्ला प्रशासन कार्यालय बारा, औषधी व्यवस्था विभागको वीरगञ्जस्थित कार्यालय र बरियारपुर प्रहरी चौकीको संयुक्त टोलीले बिहीबार बरियारपुर बजारमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा ती औषधी पसल तथा क्लिनिकहरुमध्ये कतिपयले नेपालमा प्रतिबन्धित औषधी राखेर बिक्री गर्ने गरेको, औषधी व्यवस्था दर्ता नभएको, सिएमए, एचएहरुले औषधी पसल सञ्चालन गरेको र म्याद गुज्रेका औषधी फेला परेको औषधी निरीक्षक दिपेन्द्र कुमारसाहले बताए।

‘औषधी पसल सञ्चालनका लागि फार्मेसी पढेको वा औषधी व्यवस्था विभागबाट व्यवसायिक तालिम गरेको व्यक्ति गर्नुपर्छ। दर्ता गर्ने, प्रतिबन्धित औषधी बिक्री नगर्ने लगायत अन्य नियमहरुको पनि पालना गर्नुपर्छ। तर बरियारपुरमा त्यस्तो पाइएन,’ उनले भने, ‘६ वटा पसल खोल्नमा रोक लगाएका छौं, पसल खोले नखोलेको निगरानी गर्न प्रहरीलाई भनिएको छ।

निरीक्षक साहले भने उनीहरुलाई किन कारबाही नगर्ने भनेर कागजात प्रमाणहरु लिएर वीरगञ्ज कार्यालयमा आउन भनेका छौं। उनीहरुले कसरी कागजपत्र पेश गर्छन्, त्यसैअनुसार कारबाही प्रक्रिया अघि बढ्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.