भारतका विदेशमन्त्री एस जयशंकरले भारत र नेपालले मिलेर अगाडि बढ्ने निर्णय गरेको बताउनुभएको छ।

भारतीय अंग्रेजी दैनिक दि हिन्दूसँगको अन्तर्वार्तामा विदेशमन्त्री जयशंकरले विगतमा नेपालसँग केही समस्या र असमझदारी भए पनि पछिल्ला केही साता दुबै देशबीच समझदारी विकास हुँदै गएको बताउनुभयो।

सीमा विवादका कारण लामो समयदेखि संवादहीन रहेका दुई मुलुकबीच पछिल्लो समय औपचारिक वार्ता थालनी भएको छ।

जयशंकरले छिमेकीहरुबीच समस्या हुनु सामान्य भन्दै अधिकांश छिमेकीमा लोकतान्त्रिक व्यवस्था रहेको हुँदा सबैले आ–आफ्ना हिसाबले राजनीति गर्ने गरेकाले समेत विवाद देखिने गरेको बताउनुभयो।

समस्या समाधानका लागि साझा बिन्दु कसरी पहिल्याउने भन्ने मुख्य प्रश्न भएको उहाँको भनाइ छ।

भारतीय विदेशमन्त्री जयंशकरले नेपालको संविधानको विषयलाई लिएर भारतले जनाएको आपत्तिलाई कुनै एउटा घटना विशेषका रुपमा हेर्नुपर्ने र त्यसैका आधारमा दुई देशबीचको सम्बन्धबारे निष्कर्षमा पुग्न नहुने बताउनुभयो।

भारतले नेपालले नयाँ संविधान जारी गर्दा विरोध जनाएको थियो। संविधानमा आफ्नो सुझाव समेट्न दबाब दिन त्यतिबेला विदेश सचिव रहेका जयशंकर नै काठमाडौं आउनुभएको थियो।

तर नेपालले भारतीय दबाबको बेवास्ता गर्दै संविधान जारी गरेको थियो। त्यसपछि भारतले ६ महिनासम्म अघोषित नाकाबन्दी लगाउँदा नेपाली जनताले दुःख पाउनुका साथै अर्थतन्त्रमा ठूलो असर परेको थियो।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.