हुलाकी न्यूज,काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धमा कुनै कुराले असर नगर्ने बताएका छन् ।

नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हीले आइतबार शिष्टाचार भेट गरेपछि प्रधानमन्त्री ओलीले यस्तो विचार राखेका हुन् ।

रक्षामन्त्री वेईसँगको छलफलमा प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताएको जानकारी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले

रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल र चीनको सम्बन्धलाई अझ सुमधुर बनाएर अगाडि बढाउन चाहेको सन्देश वेईमार्फत दिएका छन् । छलफलको क्रममा प्रधानमन्त्री ओलीले भने , “नेपाल र चीनजस्तो दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको सम्बन्ध अरू कुनै कुराले असर गर्न सक्दैन भन्ने विश्वास हाम्रो रहिआएको छ ।”

वेईलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो सम्बन्ध रहिआएको प्रस्ट्याए । “हाम्रो यो लामो सम्बन्धमा कुनै पनि किसिमको समस्या छैन्, नेपाल एक चीन नीतिको पक्षमा छ, नेपालको भूभाग चीनविरुद्ध प्रयोग हुन नदिने नीति हाम्रो रहिआएको छ, त्यसलाई म दोहो¥याउन चाहन्छु ।” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै डा. भट्टराईले स्पष्ट पारे

पछिल्ला वर्षहरूमा चीन र नेपालबीच उच्चस्तरीय भ्रमण हुँदै आएको छ र त्यसले आपसी सम्बन्धलाई थप बलियो बनाएको भनाइ प्रधानमन्त्री ओलीको छ । डा. भट्टराईका अनुसार छलफलमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको चीन भ्रमण, चीनका राष्ट्रपतिले गर्नुभएको नेपाल भ्रमण र स्वयं आफूले सन् २०१६ र २०१८ मा गरेको चीनको भ्रमणलाई प्रधानमन्त्री ओलीले स्मरण गरे । ती भ्रमणका क्रममा जुन तहका सहमति भएका छन् ती सहमतिहरूको कार्यान्वयन गरेर अगाडि जाँदा दुई देशको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्ने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरे ।

सहमति र समझदारी कनेक्टिभिटी र सडक सञ्जाल वा रेल्वे, विद्युत् विकास, अन्य पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा चीनको सहयोग उल्लेखनीय रहेको प्रधानमन्त्री ओलीले वेईलाई सुनाए । ती सहयोगको निरन्तरताले नै दुई देशबीचको सम्बन्ध राम्रो रहेको देखाउने भनाइ पनि प्रधानमन्त्री ओलीको छ ।

प्रधानमन्त्री ओलीसँगको छलफलका क्रममा चीनका रक्षामन्त्री वेईले नेपाल र चीनबीचमा कुनै पनि समस्या नरहेको प्रस्ट्याए । “नेपालले लिई आएको एक चीन नीति र नेपालको भूभाग चीनविरुद्ध प्रयोग गर्न नदिने नीतिको हामी सधँै उच्च प्रशंसा गर्छौं,” वेईका भनाइ उद्धृत गर्दै डा. भट्टराईले बताए । साथै चीन शान्तिको पक्षधर रहेकाले कुनै अन्य मुलुकको सम्बन्धमा हस्तक्षेपकारी भूमिका नराख्ने पनि वेईले स्पष्ट पारे ।

नेपाल र चीनबीचमा पछिल्ला उच्चस्तरीय भ्रमणका क्रममा भएका सहमति कार्यान्वयन गरेर अगाडि जानका लागि चीन पूर्ण रूपमा प्रतिबद्ध रहेको वेईले प्रधानमन्त्री ओलीसमक्ष बताए । छिटोभन्दा छिटो तिनको कार्यान्वयन गरेर अगाडि जान चीन सरकारले चाहेको विचार पनि रक्षामन्त्री वेईले उल्लेख गरे ।

छलफलका क्रममा वेईले अगाडि भने , “तपाईंको नेतृत्वमा नेपालले आर्थिक विकासको बाटोमा जान खोजेको छ, त्यसको हामी समर्थन गर्दछौँ र त्यसमा चीनले नेपाललाई गर्नुपर्ने सहयोग गर्दै आएको छ र भविष्यमा पनि गर्नेछौँ भन्ने विश्वास दिलाउन चाहन्छु ।” कोभिड–१९ नियन्त्रण चीनले सफलतापूर्वक गरेको जानकारी दिँदै वेईले नेपालमा पनि कोभिड नियन्त्रणबाट मुक्त भएर छिटो आर्थिक विकासको बाटोमा अगाडि जानेछ भन्ने चीनले विश्वास लिएको वेईको भनाइ छ ।

रक्षामन्त्री वेईमार्फत चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि खछ्याङले शुभकामना सहितको शुभेच्छा पठाउनुभएको थियो । यस भ्रमणले दुई देशको पारम्परिक मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवद्र्धन गर्न र आपसी हितका विषय आदानप्रदान गर्न सघाउन पु¥याएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आठ घण्टा लामो औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आएका रक्षामन्त्री वेईले अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा उत्रे लगत्तै दुई देशका उच्च नेतृत्वबीच भएको आपसी सम्बन्ध प्रगाढ बनाउने समझदारीको निरन्तरता नै आफ्नो भ्रमणको उद्देश्य रहेको बताए ।

विमानस्थलको विशिष्ट कक्षमा उनलाई नेपालका गृहमन्त्री रामबहादुर थापा सहितको टोलीले स्वागत गरेको थियो । नेपाल र चीनबीचको सम्बन्ध बलियो रहेको भन्दै उहाँले आपसी सहयोग र साझेदारीलाई थप वृद्धि गर्दै द्विपक्षीय सम्बन्धलाई उचाइ दिनुपर्नेमा जोड दिएका थिए ।  गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.