हुलाकी न्यूज, काठमाडौं : विभिन्न देशमा कोरोना भाइरस विरुद्धको खाेप तयार भइरहेको छ। अधिकांश खोपहरु परिक्षण प्रक्रियाको अन्तिम चरणमा रहेको छ।
कोरोना भाइरसको खोप विश्वबजारमा उपलब्ध हुने बितिक्कै नेपालमा ल्याउने गरी प्रक्रिया थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
परिक्षणमा रहेका मध्ये कुन खोप प्राथमकितामा रहने भन्नेबारे अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ।
यसै साता स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विश्व बजारमा उपलब्ध भएसँगै नेपालमा पनि आउँदो मार्च महिनासम्ममा आइपुग्ने बताएका थिए।
सरकारले गतसाता विदेशमा बनेका ती खोप र औषधि ल्याउने कानुनी बाटो खोल्नका लागि अध्यादेशसमेत जारी गरिसकेको छ।
अमेरिका, बेलायत, चीन, रुसलगायत विभिन्न विकसिकत मुलुकमा खोप अन्तिम चरण परीक्षण भइरहेका विवरणहरू आएका छन्।
खोप ल्याउनका लागि खोप बनिरहेका देशमा कूटनीतिक नोटसमेत पठाइसकिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन्।
अहिले परीक्षणमा रहेका खोप १२ वर्ष उमेर माथिका लागि मात्रै रहेको जनाइएको छ। त्यसबाहेक जनसंख्याको २० प्रतिशतलाई खोप ल्याउनका लागि ग्लोबल भ्याक्सिन अलाइन्स र विश्वस्वास्थ्य सङ्गठन मिलेर कोभ्याक्स भन्ने अवस्था निर्धारण तय गरेको बीबीसीले जनाएको छ।
उक्त कोभ्यासले नेपाल जस्तो गरिब मुलुकलाई खोप किनेर लगाउने कि सहुलियतमा लगाउने भनेर करिब ६ महिना अगाडि नै सोधेको डाक्टर गौतमले बताए।
नेपालले सहुलियतमा जनसंख्याको करिब २० प्रतिशत अर्थात्, ६० लाख डोज चाहिने बताएको र त्यसको जवाफमा ’उपलब्ध गराउने’ भनेर करिब डेढ महिनाअगाडि नै प्रतिबद्धता सहितको जवाफ आइसकेको उनले बताए।