हुलाकी न्यूज, जनकपुरधाम : महोत्तरीको बर्दिबासमा हत्या गरिएको ६ बर्षीया बालिका गुलबसा खातुनको शवको पोस्टमार्टम रिपोर्ट प्रादेशिक अस्पताल जनकपुरले तयार गरेर प्रहरीको जिम्मा लगाउन लागेको छ।

प्रादेशिक अस्पताल जनकपुरका चिकित्सक डा।रामदेव चौधरीको अध्यक्षतामा गठित ६ सदस्यीय मेडिकल बोर्डले बालिकाको शव पोस्टमार्टम गरेको हो । मंसिर ७ गते बर्दिबास नगरपालिका वडा नम्बर-१४ शुभम् बस्तीका सहिद अन्सारीकी ६ बर्षीया छोरी गुलबसा खातुनको स्थानीय अरुण साहले हत्या गरेका थिए ।

डा.चौधरीले बालिकाको शव परीक्षण बिहीबार नै भईसकेको बताए । उनले करीब डेढ घण्टा लगाएर गरिएको शरीरको सम्पूर्ण भागको परीक्षण पश्चात मृत्युको कारण पत्ता लगाईएको जानकारी दिए । उनले भने,‘मृत्युको कारण अहिले बताउन मिल्दैन । आजै हामीले तयार गरेको रिपोर्ट प्रहरीलाई जिम्मा लगाउन लागेका छौं । सत्यतथ्य चाँडै बाहिरिन्छ ।’

मृत बालिकाको शबलाई अस्पतालको फ्रिजमा राखेको कारण शव परीक्षण गर्न कुनै समस्या नभएको डा।चौधरीले बताए । पोस्टमार्टम पश्चात बालिकाको शवलाई फ्रिजमा सुरक्षित राखिएको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बालिकाको शवको पोस्टमार्टम बिहीबार नै सम्पन्न भएपनि किटानी जाहेरी लगायतको काम बाँकी रहेकोले शव परिवारजनको जिम्मा नलगाइएको जानकारी दिए । उनले प्रक्रिया पुर्याएर आजै उनको शव परिवारजनको जिम्मा लगाइने बताए ।

गत आइतबार साँझ बेपत्ता भएकी गुलबसाको शव सोमबार मध्यराति बस्ती नजिकै बोरामा भेटिएको थियो । मंगलबार बालिकाको शवसहित बर्दिबाचोकमा स्थानीयले प्रदर्शन गरिरहेको बेला प्रहरीले उनको शव खोसेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.