हुलाकी न्युज, जनकपुरधाम, भदौ १५ । जनकपुरको भानुचौकमा प्रहरीले चलाएको गोली लागि दुई प्रदर्शनकारी घाईते भएका छन् । धनुषा, गोपालपुरका जित कुमार साहको छातीमा गोली लागेको छ भने पोखरभिण्डाका सुजित कुमार साहको टाउकोमा गोली लागेको छ । घाईते दुबैको अवस्था गम्भिर छ । उनीहरुको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

प्रहरी र प्रदर्शनकारीबिच भानुचौकमा भएको दोहोरो झडपका क्रममा प्रहरीले ५० सेलभन्दा बढी अश्रुग्याँस प्रहार गरेको छ भने २० राउण्ड जति हवाई फायर गरेको छ ।

दुई जना प्रदर्शनकारीलाई रेल्वे प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । उनीहरुको परिचय खुलाइएको छैन ।

भानुचौक देखि रेल्वे स्टेसनसम्मको अवस्था तनावग्रस्त छ । दोहोरो झडप जारी छ ।

प्रहरीद्वारा स्थानीय नेताको घरमा तोडफोड
यता, प्रहरीले भानुचौकस्थित मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष उमाशंकर अरगरियाको घरमा तोडफोड गरेको छ ।
घरको कम्पाउण्डमा राखिएको ३–४ वटा मोटरसाइकल तोडफोड गर्नुका साथै घरभित्र प्रवेश गरी भान्सा कोठाको सामान पनि बाहिर फ्याँकेको छ ।

प्रदर्शनकारीले गरे सभासदको घरमा आगजनी
भानु चौकमा रहेको कांग्रेस सभासद रामकृष्ण यादवको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । उनीहरुले टायर बालेर त्यसमा पेट्रोल छर्की यादवको घरको ढोका र झ्यालमा फ्यालेका छन् ।

यादव धनुषा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् ।

मानव अधिकारकर्मी पनि पिटिए
घटनाको अनुगमन गर्न भानुचौक पुगेको मानवअधिकारकर्मीलाई पनि पिटेको छ । मानवअधिकारकर्मीको टोलीमाथि प्रहरीले लाठी प्रहार गरेको छ ।

प्रहरीको कुटाईबाट राष्ट्रिय मानव अधिकार आयोगका अजित ठाकुर, दिपेन्द्र साह, एड्भोकेसी फोरमका राज कुमार महासेठ, थर्ड एलायन्सका दिपेन्द्र कर्ण, अभ्युत्थान नेपालका नागेन्द्र साह, ओडेकका देव कुमार महतो घाईते भएका छन् ।

नागेन्द्र साहको अवस्था गम्भिर रहेको छ । उनको टाउकोसहित शरिरका अन्य संवेदनशिल भागमा चोट लागेको छ । त्यस्तै, अजित ठाकुरको हाथमा, दिपेन्द्र कर्णको ढाडमा चोट लागेको छ ।

उनीहरुको भानुचौकस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.