मास्टरसेफ यूकेको प्रतिस्पर्धामा अहिले प्रशंसा बटुलिरहेका सन्तोष शाहको सङ्घर्षको कथा नेपालको सिरहा जिल्लामा पर्ने तत्कालीन कर्जन्हा गाउँको एउटा गरीब परिवारबाट शुरू हुन्छ।

बुवाको आडभरोसा त बाल्यकालमै खोसिएको थियो, पछि दाजुहरू पनि बिहेवारी गरी आआफ्नो बाटो लागे। बेसहाराजस्तै भए उनी र उनकी एकल आमा।

गुजारा चलाउनका लागि केही त गर्नैपर्‍यो। स्कूले पढाइसँगै गाउँमा पाउरोटी र पोलिथिन बेचेर सन्तोषले दैनिक २०-२२ रुपैयाँ कमाउन थाले।

एसएलसी दिए तर तीनवटा विषयमा उनी अनुत्तीर्ण भए। बुवा गुमाइसकेका सन्तोषलाई नियतिले एक पटक फेरि ठगेको महसुस भयो।

होटलमा भाँडा माझ्ने काम

गाउँमा दैनिक २०-२२ रुपैयाँ आम्दानी, त्यसमाथि एसएलसीमा तीन-तीन विषयमा ‘फेल’।

आमाको हेरचाह गर्ने अभिभारा पनि आफ्नै काँधमा आएपछि गाउँका दाजुभाइसँग होटलमा काम गर्न भन्दै १५ वर्षका सन्तोष भारतको गुजराततर्फ लागे। तर हातमा न कुनै शीप थियो न उच्च त शिक्षाको प्रमाणपत्र।

“कुनै शीप नभए पनि भाँडा धुन र सरसफाइको काम पाइन्छ। खान पनि दिन्छन् भनेपछि त्योभन्दा राम्रो अरू के पाइन्छ भन्ने लाग्यो र म गएँ,” उनी सम्झिन्छन्।

गुजरातमा उनले एउटा होटलमा भाँडा माझ्ने काम पाए। मासिक ९०० भारतीय रुपैयाँमा सन्तोषले होटलका भाँडा मस्काउन थाले।

गाउँमा पाउरोटी र पोलिथिन बेचेर मुश्किलले महिनाको ६००-६५० नेपाली रुपैयाँ कमाउने सन्तोषका लागि त्यति बेला ९०० भारु कम लागेन।

समूहमा बस्दा कोठा भाडाको लागि एक सय रुपैयाँ कटाएर बाँकी आठ सय भारु बचत गर्न पाउँदा उनी दङ्ग थिए।

अग्लो टोपी र सेतो पोशाक लगाएर एकै ठाउँमा ३०-४० जना सेफले काम गरेको देखेर उनलाई अचम्म लाग्थ्यो।

अभावैअभाव देखेका सन्तोषलाई त्यहाँका एक्जिक्युटीभ सेफले मासिक १६ हजार भारु पाउने गरेको थाहा पाएपछि त्यस्तै सेफ बन्ने सोच पलायो।

त्यहाँका एक्जिक्युटीभ सेफ सरोज दासको कार्यालयभित्र एक दिन आँट गरेर उनी छिरे।

त्यो दिन सम्झदैँ उनी भन्छन्, “मलाई सेफको रूपमा काम गर्ने इच्छा छ। मलाई मौका दिनूस् भनेर उहाँलाई भनेँ।”

सेफ बन्ने सोच बनाइसकेका सन्तोषले जे पनि गर्न तयार छु भन्ने जवाफ दिए।

सरोज दासले सहयोगी सेफका रूपमा त्यसको भोलिबाटै काममा आउन भने।

त्यहाँ उनले तन्दुरी रोटीका लागि आटा मुछ्ने, पकाउने र कोइला हाल्ने काम गर्न थाले।

कामसँगै सेफको डिग्री

त्यसको करिब पाँच महिनापछि सन्तोषले गुजरातकै अर्को होटलमा काम शुरू गरे जहाँ क्याटरिङ्गसम्बन्धी पढाउने होटलकै इन्स्टिट्युट थियो।

त्यस्तो होटलको सेफ बन्न के गर्नुपर्छ भनेर सिनियरहरूलाई सोध्दा त्यसका लागि पढ्नुपर्छ भन्ने जवाफ पाएका सन्तोषलाई पढ्ने रहर जाग्यो।

“त्यहाँका व्यवस्थापलाई मेरो वर्क आवर केही घटाइदिनूस् र मेरो तलबबाट पैसा काटेर पढ्ने व्यवस्था मिलाइदिनूस् भनेर मैले आग्रह गरेँ,” सन्तोष सम्झन्छन्।

उनको लगनशीलता देखेर उक्त होटलका व्यवस्थापकले नाइँ भनेनन् र उनको आग्रह बमोजिम अनुमति दिए। काम गर्दै सन्तोषले त्यहाँ डेढ वर्षे डिप्लोमा पूरा गरेँ।

सम्बन्धित विषयको अध्ययन र कामको अनुभव पनि बटुलिसकेका सन्तोषले अर्को पाँचतारे होटलमा अन्तर्वार्ता दिए र त्यहाँ थप माथिल्लो पदमा काम पाए।

त्यो होटलमा काम गर्दागर्दै उनलाई थाहा भयो अझ माथिल्लो पदमा पुग्न पकाउने कलासँगै अङ्ग्रेजी पो राम्ररी जान्नुपर्नेरहेछ।

त्यतिबेला उनको आम्दानी पनि राम्रै थियो। गाउँमा आमालाई पठाएको पैसा पनि पुग्दो थियो। खर्च गरेर अङ्ग्रेजी पढ्न आर्थिक अभावले रोक्ने अवस्था पनि थिएन।

“अनि तीनवटा अलगअलग ठाउँमा एकएक घन्टा अङ्ग्रेजी भाषाको कक्षा लिन थालेँ। एक ठाउँमा सिकेका कुरा अर्को ठाउँमा मैले प्रयोग गर्न थालेँ।”

“आखिर भाषा जान्ने कुरा त सिकेर अभ्यास गर्नुपर्ने कुरा पो रहेछ।”

अरूले बोलेको अङ्ग्रेजी बुझ्न र जवाफ दिन योग्य भएपछि उनलाई यो कुरा महसुस भयो।

त्यसपछि सन्तोषले अर्को ठाउँमा अन्तर्वार्ता दिए र एक्जिक्युटीभ सेफको रूपमा त्यहाँ काम पाएँ।

“सात वर्षको अन्तरालमा मेरो मातहत ७० जनासम्म काम गर्न थाले। त्यतिबेला मेरो तलब ४० हजार भारु पुगिसकेको थियो। यो सन् २००६-००७ तिरको कुरा हो।”

त्यो जिम्मेवारीसँगै त्यसका लागि चाहिने अरू शीपको विकास गर्न उनी लागे।

एक्जिक्युटीभ सेफले मेनुहरू तयार पार्नका लागि कम्प्युटर चलाउन अपरिहार्य देखेपछि त्यो पनि उनले सिके।

तीन वर्ष त्यहीँ होटलमा उनले एक्जिक्युटीभ सेफको काम गरे। त्यहाँबाट उनमा विदेश जाने सोच आयो र विदेश पठाउने एजेन्सीहरूलाई उनले सम्पर्क गर्न थाले।

दक्षिण भारतको कोयमबतुरस्थित एउटा एजेन्सीमा दुई लाख भारु हालेका सन्तोषले त्यो फर्जी कम्पनी भएको पछि थाहा पाए र उनको पैसा डुब्यो।

निराश नभई उनले विदेश जाने प्रयास जारी राखे र सन् २००९ तिर उनी मोन्टेनिग्रो पुगे।

एउटा पाँचतारे होटलमा एक वर्ष त्यहाँ काम गरेका सन्तोषलाई सन्तुष्टि मिलेन र उनी फेरि भारत फर्किए।

गुजरातकै एउटा पाँचतारे होटलमा एक्जिक्युटीभ सेफको रूपमा उनले काम गर्न थाले।

“विदेशमा के सिकेँ भनेर त्यहाँ मैले एउटा फूड फेस्टिभल गरेँ। त्यसलाई भारतका केही ठूला सञ्चारमाध्यमले राम्रो स्थान दिए,” सेफ यात्राको एउटा महत्त्वपूर्ण मोडलाई स्मरण गर्दै सन्तोषले सुनाए।

त्यो समाचार हेरेर लन्डनमा रेष्टुराँ चलाउँदै आएका एक गुजरातीले उनलाई फोन गरे।

लन्डन जाने उनको इच्छाबारे सोधेर ती गुजरातीले त्यहीँ रात भेट्न सन्तोषलाई बोलाए।

राति ११ बजेसम्मको आफ्नो ड्यूटी सकेर मोटरसाइकल चढी सन्तोषले लन्डन यात्राबारे कुरा गर्न दुई घण्टाको रात्रिकालीन यात्रा गरे।

गुजरातबाट लन्डनको यात्रा

राति एक बजे ती गुजरातीको घरमा पुगेर उनले आफ्ना सबै प्रमाणपत्र देखाए।

ती गुजरातीले लन्डनको भिसा आवेदनका लागि चाहिने रकम उनलाई दिएर पठाए। सोही अनुरूप सन्तोषले त्यसको भोलिपल्टै आवेदन दिए।

सन्तोषका अनुसार लन्डन फर्किनुपर्ने भएकोले ती गुजरातीले राति नै सन्तोषलाई बोलाएका थिए।

आवेदन दिएको एक हप्तापछि सन्तोषलाई लन्डनमा काम गर्ने अनुमति आयो।

गुजरातस्थित काम गर्ने होटलमा राजीनामा दिएर त्यहाँ आवश्यक प्रक्रिया पुर्‍याई सन्तोष आमालाई भेट्न सिरहास्थित आफ्नो घर पुगे।

“आमालाई भेटेर सन् २०१० को अन्त्यतिर म लन्डन आएँ,”उनले भने। तर लन्डनमा उनलाई पहिलो गाँसमै ढुङ्गा परेजस्तो भयो।

“आफूले लिएर आएको भन्दै साहुले तलब पनि काट्न थाले। काम पनि धेरै गराए। रेष्टुराँ पनि ढावाजस्तो थियो। पकाउने, भाँडा माझ्ने सबै गर्नुपर्थ्यो। म त एकदम दुःखी भएँ।”

तर जे हुनुथियो त्यो त भइहाल्यो भन्दै अगाडिको यात्रालाई सन्तोषले रोकेनन्।

एक वर्षको अवधिमा ‘वर्क परमिट’ परिवर्तन गराउनमै उनको ६,००० पाउन्ड खर्च भयो।

त्यहीँ क्रममा भारतका अतुल कोचर नाम गरेका मिस्लिन स्टार सेफसँग उनले काम गर्ने मौका पाएँ।

“मैले उहाँसँग तीन वर्ष काम गरेँ। उहाँको रेष्टुराँ फ्रेन्च परिकारबाट प्रभावित भई भारतीय परिकार पस्कने रहेछ। अनि मलाई लाग्यो उनी प्रभावित भएको परिकार नै किन नसिक्ने त,”आफ्नो सिक्ने कौतुहलताबारे सन्तोषले भने।

त्यहाँबाट उनले चर्चित फ्रेन्च सेफ रेमन्ड ब्लाङ्कसँग काम गर्न थाले जहाँ उनले एक वर्ष काम गरे।

लन्डनस्थित सिनामन ग्रुप हुँदै पाँचतारे होटल ललितमा एक्जिक्युटीभ सेफ भएर उनले काम गरे। तर सन्तुष्टि नपाएर फेरि सिनामनमै फर्किए।

“यो रेष्टुराँका सञ्चालक विवेक सिंह पनि ठूलो सेफ हुनुहुन्छ। उहाँले मलाई धेरै साथ र स्वतन्त्रता दिनुभएको छ।”

नेपाली खानाको प्रवर्द्धन कति जरुरी?

झण्डै पाँच वर्षको कडा मेहनतले अहिले सन्तोषलाई यूके मास्टरसेफको प्रतिष्पर्धामा पुर्‍याएको छ।

तर सन्तोषकै शब्द सापटी लिएर भन्नुपर्दा उनको ध्यान अब यूके मास्टरसेफमा जित्नुभन्दा पनि नेपाली खानाको प्रवर्द्धन गर्नुमा केन्द्रित भएको छ।

“नेपाली खानामा केही त छ जुन बाहिर आउन सकेको छैन र यो कुरा उपयुक्त होइन भनेर मैले प्रतिस्पर्धै भनेको छु,” सिरहाका सन्तोषले सगर्व सुनाए।

“भारतीय खानाबारे मसँग २० वर्षको अनुभव छ। जित्नका लागि भए त नेपाली परिकारहरू लिएर म प्रतिस्पर्धामा जाने थिइनँ।”

उनका अनुसार केही परिमार्जन (रिफाइनमेन्ट) गर्ने हो भने नेपाली खानालाई विश्वसामु एउटा छुट्टै तहमा लैजान सकिन्छ।

प्रतिस्पर्धाको ‘क्रिटिक्स राउन्ड’मा टम पार्कर र ग्रेस डेन्टका सकारात्मक प्रतिक्रियाहरू पाएका सन्तोष झन् हौसिएका छन्।

नेपाली शैलीमा उनले अक्टोपसको परिकार बनाएर त्यससँग कर्कलोको पातको परिकार, भाङ्ग र टिम्बुरको अचार पस्केका थिए।

त्यो खाएर ग्रेस डेन्टले मास्टरसेफमा त्यस्तो स्वादसहित सुन्दर ढङ्गले सजाएर पहिलो पटक कसैले पस्केको भनेर प्रतिक्रिया दिएको उनले बताए।

“मैले मेरो देश र त्यहाँका परिकारका लागि केही गरेको छु भनेर गर्वले मेरो छाती चौडा भएको छ,” सन्तोषले सुनाए।

प्रतिस्पर्धामा उनले जेरीदेखि करेलाको चटनी लगायतसम्म बनाएर पस्केका छन्।

विविधताबारे सन्तोषको बुझाइ

सन्तोष प्रश्न गर्छन्, “नेपाली परिकारहरू यति राम्रा हुँदाहुँदै किन दुनियाँसामु आएनन् त?”

त्यसको जवाफ पनि उनी आफैँ दिन्छन्, “आफ्ना खानालाई हामी आफैँले होच्याएका छौँ। हामीले नै हाम्रो खानालाई राम्रो भन्न सकेका छैनौँ। हामीले हाम्रा खानामाथि कहिले विश्वास नै गरेनौँ।”

“गुन्द्रुक कसले खान्छ, विदेशमा राँगाको सुकुटी कसले खान्छ, खसीका आन्द्राभुँडी पनि कसैले खान्छ र भन्दै बस्यौँ। ढिडो त गरीबको खाना हो। यसरी पनि होच्याएका छौँ हामीले,”सन्तोष थप्छन्।

उनको मातृभाषा मैथिलीमा एउटा भनाइ छ ‘हमर बारीके बथुवा तीत’ अर्थात्‌ मेरो बारीको बेथुको साग तीतो। नेपालीमा भन्नुपर्दा नजिकको तीर्थ हेला भन्ने हुन्छ।

सन्तोषका अनुसार नेपाली परिकार र तिनलाई बनाउने तरिका फ्रेन्च परिकारलाई पनि टक्कर दिने खालका छन्।

“मासुको एउटा फ्रेन्च परिकार टारटार हुन्छ। हामीकहाँ कचिला हुन्छ। के हामीले उनीहरूबाट सिकेको हो र। त्यो त हाम्रै हो नि। फ्रेन्चभन्दा हाम्रा विधिहरू धेरै छन्।”

नेपालका शेर्पाहरूले बनाउने उसिनेको आलुको विशेष सुपदेखि तराईमा बनाइने बगिया, नेवार समुदायको योमरी र थारु समुदायले बनाउने अनेकौँ परिकारसम्म सबैको बेग्लै स्वाद र विशेषता रहेको उनी सुनाउँछन्।

“अहिले रिसर्च गरेर लाग्यो २० वर्ष मैले भारतीय खानामा किन खेर फालेँ, नेपाली खानाबारे मैले पहिला किन सोचिनँ,” यो प्रश्न उनी आफैँलाई गर्छन्।

एक दिमागले भन्छ- आमनेपालीले जस्तै उनले पनि नेपाली खानालाई कम आके कि उनले पनि महत्त्व दिएनन् कि?

“तर अहिले आएर नेपाली परिकारहरूबारे म ‘इन्लाइटेड’ भएको छु। तपाईँहरू सबैको आशिष् लागोस् र सबै नेपालीलाई म गर्व महसुस गराउन सकूँ। त्यहाँ नेपाली झण्डा फहराउन सकूँ,” सन्तोषले सुनाए।

“जित्नु वा नजित्नु त आफ्नो ठाउँमा छ। विश्वले चिन्नसक्ने एउटा प्रतिस्पर्धाको फाइनलसम्म नेपाली परिकारहरू पुगे भने त्यो एकदम ठूलो कुरा हुनेछ।”

“फाइनलसम्म विभिन्न नेपाली खाना पुर्‍याउन सकेमा मेरो लागि ठूलो गर्वको विषय हुनेछ। खुशीले छाती ढक्क भएर म कति रुन्थेँ हुँला।”

उनी चाहन्छन् सबै नेपालीले उनका कुरा सुनून् र उनीबाट प्रेरित होऊन्।

“मैले पहिला नबनाएका र नखाएका परिकार बनाएर यहाँसम्म पुग्नसक्छु भने अरूले नसक्ने कुरा हुँदैन,” सन्तोष भन्छन्।

“अहिले त मैले धेरै सिक्न बाँकी छ। सङ्घर्ष गरिरहेका सबैलाई म यति भन्न सक्छु कि तपाईँ लागिपर्नुभयो भने लक्ष्यमा पुग्न असम्भव हुँदैन।”

नाम सन्तोष भए पनि सिक्ने कुरालाई लिएर उनले कहिल्यै सन्तोष मानेनन्। बीबीसी नेपालीबाट

4 COMMENTS

  1. साह्रै राम्रो उत्प्रेकदायिक लेख र अगाडी अझै सफलता मिलोसको कामना ।

  2. तपाईंले गर्नु भएको काम र नाम सराहनिय छ है सर । बधाइ छ तपाइलाइ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.