रमेश ठाकुर, रौतहट, १२ कार्तिक । संविधान संसोधन भएमात्र देशबाट द्वन्द्व सकिने तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।
विगत ७५ दिनदेखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको तराई मधेशमा जारी बन्द हड्ताल र नाकाबन्दीबारे नागरिक समाज, उद्योगी, व्यापारी, निर्माण व्यवसायी तथा नेता कार्यकर्ताहरुसँग आन्दोलनबारे अन्तक्र्रिया गर्न रौतहट आइपुगेका अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् ।
वीरगंजबाट भारतको बाटो भई मोटरसाइकल चढेर रौतहट आएका अध्यक्ष ठाकुरले गौर बैरगिनिया जोड्ने पुलमा नाका अवरुद्ध गर्न बसेका आन्दोलनकारीहरुलाई धन्यवाद दिँदै अहिलेको संविधान मधेशी, मुश्लिम, दलित, आदिवासी, जनजाती तथा महिलाविरोधि रहेकोले संविधान संसोधन भएमात्र देशबाट द्वन्द्व समाप्त हुने र देशमा शान्ति तथा अमनचयन कायम हुने बताए ।
सरकारले पटक पटक वार्ताको लागि आह्वान गरेर नाटक मात्र गरेको र अहिलेसम्म मोर्चाको मांगप्रति कुनै ठोस प्रस्ताव नल्याएको भन्दै अध्यक्ष ठाकुरले सरकारको आलोचना समेत गरेका छन् । सीमांकनको हेरफेर मोर्चाको प्रमुख माग रहेको कुरा सरकारलाई स्पष्ट रुपमा भन्दै आएपनि त्यसप्रति सरकार गम्भीर नभएको ठाकुरले आरोप लगाएका छन् ।



