हुलाकी न्यूज, वीरगंज, १२ कार्तिक । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशको माग प्रति सरकार अझै पनि गम्भीर नभएको बताएका छन् । वीरगंजमा बिहिबार बिहान आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले घरभित्रको समस्या सुल्झाउनुको सट्टा चीनसँग इन्धन आयात गर्ने सम्झौता गरेका कारण सरकार मधेशको मागप्रति गम्भीर नभएको पुष्टि भएको बताए।
उनले अहिलेसम्म भएका औपचारिक र अनौपचारिक वार्ता तथा छलफलमा मधेशका मुद्धा सम्बोधनका लागि ठोस मार्गचित्र लिएर सरकारी वार्ता टोली नआएका कारण पनि मधेशको मागप्रति गम्भीर नभएको पुष्टि भएको जिकिर गरे।
अध्यक्ष ठाकुरले आन्दोलनका कारण बन्द विद्यालय र कलेज सञ्चालन नहुनुमा सरकार नै जिम्मेवार रहेको बताएका छन् । राज्य पक्षले मधेशका माग सम्बोधन गर्न वास्ता नगरेकै कारण आन्दोलन लम्बिएर विद्यालय र कलेजहरु खुल्न नसकेको उनको भनाइ छ ।
मधेशका माग पुरा नभएसम्म आन्दोलन जारी रहने भन्दै उनले मधेशी दलसँग विगतमा भएका आठ र २२ बुँदे सम्झौतालाई लत्याएर संविधान जारी गरिएकै कारण मुलुक जटिलतामा फसेको बताए। ठाकुरले नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई बधाइ तथा सफल कार्यकालका लागि शुभकामना पनि दिएका छन्।
पत्रकार सम्मेलनमा तमलोपाका अध्यक्ष ठाकुर, तमलोपा महामन्त्री जितेन्द्र सोनल, केन्द्रीय सदस्यहरु जितेन्द्र सिंह, चन्दा चौधरी,जनार्दन यादव, सांसद रमेश पटेल, पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तम झा, बारा जिल्ला अध्यक्ष नवलकिसोर सिंह, पर्सा उपाध्यक्ष जटाशंकर गुप्ता, सचिव चन्दन मिश्रा, महिला नेतृहरु पिंकी यादव, रेखा साह, रेखा कर्ण, उषा श्रीवास्तवलगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।



