हुलाकी न्यूज, काठमाडौं  : आज हरिबोधिनी एकादशी, वर्षमा पर्ने २४ वटा एकादशी मध्ये चतुर्मास ब्रत प्रारम्भ हुने हरिशयनी एकादशी र ब्रत समाप्त हुने हरिबोधनी एकादशीलाई ठूलो एकादशी भन्ने गरिन्छ।

हरिशयनी एकादशी (असार शुक्ल एकादशी) का दिन आ(आफ्ना घरमा रोपिएका तुलसीलाई आज पूजाआजा गरी मठ सिङ्गारेर विधिपूर्वक विवाह गराउने गरिन्छ। त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन् । औषधिको गुणले युक्त तुलसीको पूजा आराधना आज गरिन्छ ।हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा निदाएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ।

 

हरिबोधनी अर्थात ठूलो एकादशी पर्वमा हिन्दू धर्मावलम्बीहरूले ब्रत बसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन्। चार महिना अघि अर्थात् आषाढशुक्ल एकादशीको दिन (चतुर्मासको आरम्भमा ) आआफ्नो घरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ। भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न (नयाँ अन्न)को हवन गरी चतुर्मास भरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ ।चतुर्मास अवधिमा शुभारम्भ गरिएका सम्पूर्ण यज्ञ, अनुष्ठान त्यसैदिन समापन गरिन्छ।

हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन् ।

कार्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ । भीष्मपञ्चक भरि भगवान् विष्णुको आराधना गर्नाले इच्छित फल पाइने विश्वासका साथ उपत्यकाका चार नारायण (चाँगु, विशङ्खु, इचङ्गु र शेष) लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला लाग्दछ ।

यस अवधिभर नेपालको प्रसिद्ध तीर्थस्थल बराहक्षेत्रमा मेला लाग्दछ । बुढानिलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ । हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेको चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ ।

हरिबोधनीका दिन विशेषगरी सक्खरखण्ड, पिंडालु आदि कन्दमुल र फलफूल भगवान नारायणलाई चढाई ब्रतालुहरू प्रसादका रूपमा फलाहार गर्ने गर्छन् । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ। तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.