हुलाकी न्यूज, जनकपुरधामः संस्थाको नाममा संशोधन गराई ‘श्री’ थप्नका लागि सिफारिस लिन गएका एक सेवाग्राही कुटिएका छन्।
सर्लाही जिल्लाको पर्सा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भिखारी साहले नाम संशोधन गर्न आफूसँग ५ सय रुपैंया मागेको र पैसा नदिदा आफन्तले कुटेको आरोप स्थानीय सत्रोहन साहले लगाएका छन्।
पीडित साह हाल प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत छन्।
पीडित साहले एउटा संस्था दर्ताका लागि सिफारिस लगेका थिए। उक्त संस्थाको नाममा समस्या भएपछि मंसिर ७ गते उनले संशोधनका लागि वडा कार्यालय पुगेका थिए। वडा कार्यालय पुग्दा वडा अध्यक्षले ५ सय रुपैंया मागेको आरोप उनको छ।
तर, वडा अध्यक्ष भिखारी साहले भने,‘त्यसअघि हामीले उनको सबै काम गरिदिएका थियौं। उनी ७ गते आएर आफ्नै घरका मान्छेलाई मुचुलकामा सहीछाप गराएर ल्याउने जिद्धि गरेका थिए। त्यसपछि मुचुल्का बनाउन वडा सचिवसँगै उनी गएका थिए। बाटोमा वडा सचिवलाई पनि गाली बेइजती गरे।’
आफूले कुनै पैसाको डिमान्ड नगरेको दाबी गर्दै भने,‘सत्रोहन हाम्रो मतदाता हो। मेरो हजुर बुबाको पालादेखि हामी यहाँ काम गर्दैछौं। हामीले कसैसँग पैसा मागेको प्रमाणित भए म कारवाही भोग्न तयार छु।’
पीडितका अनुसार वडाध्यक्षको तर्फबाट जगदिश साह, विकास साह, सँतोष साह, अमित साह र कुन्दन साहले उनलाई बीच सडकमै कुटपिट गरेका हुन्। उनको टाउको, काँध, ओठ र दाँतमा चोट लागेको छ।
यता वडा अध्यक्षका अनुसार सत्रोहन साहले आफूलाई बजार र चौक चौकमा गाली गर्दै हिडेको र आफ्न्तलाई बेजती गर्न थालेपछि आफ्नो छोरा र नातीसँग झड्प भएको स्वीकार गरे।
‘हामीले बेइजती गर्दै हिडेपछि बजारमा छोरा र नातीसँग भेट भएको रहेछ। त्यहाँ उनको पक्षको पनि दुई जना थियो। चार जनाबीच विवाद भएर झड्प भएको मलाई जानकारी छ।’
पीडित साहले भने आफू न्यायका लागि जिल्ला प्रहरीमा निवेदन दिएको जानकारी गराए।