
हुलाकी न्यूज, जनकपुरधामः काठमाडौंसहित मधेशका विभिन्न जिल्लामा रंगभेद विरुद्धको एकता दिवस मनाइएको छ।
६ वर्ष अगाडि काठमाडौंमा मधेशीहरुलाई रंगका आधारमा पक्राउ गरेको विरोधमा प्रत्येक वर्ष मंसिर १० गते रंगभेद विरुद्धको एकता दिवस मनाइन्छ।
२०७१ साल मंसिर १० गते काठमाडौंमा डा.सीके राउतको नेतृत्वमा आयोजना भएको सभा र विभिन्न स्थानबाट करिब ४ सय जना मधेशीहरुलाई पक्राउ गरिएको थियो।
नेपालमा रंगका आधारमा मधेशी–थारु–जनजातिहरुसँग विभेद भइरहेको भन्दै विरोध गरिएको थियो।
रंगभेद विरुद्धको एकता दिवसका अवसरमा बुधबार सिरहाको विष्णुपुरमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो भने बाँके, बर्दिया, रौतहट, महोत्तरी, सप्तरी लगायतका जिल्लामा कार्यक्रमको आयोजना गरिएको हो।
हाल जनमत पार्टीले विधिवत रुपमा रंगभेद विरुद्धको दिवस मनाउने गरेको पार्टीले जनाएको छ।



