हुलाकी न्यूज,जनकपुर: महोत्तरीको बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएका छन्। प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका हुन्।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहारदेखि हवाई फायरसम्म गरेको छ। दर्जनौं राउण्ड अश्रु ग्यास प्रहार र हवाई फायर गरिएको स्थानीयले बताएका छन्।
प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीले ढुँगामुढा गरेपछि अश्रु ग्यास प्रहार तथा हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ।
प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल, सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको छ।
बर्दिबास १४ निवासी शहीद आलमकी ६ वर्षीया छोरी गुलाब खातुनको हत्या भएको छ। आइतबार साँझदेखि बेपत्ता भएकी उनको शव सोमबार राति १ बजेतिर घर नजिकैको खाली खेतमा फेला परेको छ।
बालिकाको हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घर भई बर्दिबासमा किराना पसल गर्दै आएका अरुणकुमार साहलाई पक्राउ गरेको छ।
प्रदर्शनकारीले साहको बर्दिवासस्थित घरमा आगजनी समेत गरेका छन्।प्रदर्शनकारीले पटक–पटक साहले घट्ना घटाएककाले उनलाई धराौटीमा छुट्न नपाउने गरी आजीवन कैद सजया हुनुपर्ने, उनको घर भत्काएर स्मृति पार्क बनाउनुपर्ने, हरेक घट्नामा उनको अभिभावक पनि संलग्न रहेकाले मतियारको रुपमा उनीहरुलाई पनि सजाय हुनुपर्नेसहितका माग राखेका हुन्।






