हुलाकी न्यूज,दोलखा : दोलखाको सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ। मंगलबार दिउँसो २ बजेदेखि भीमसेनको शीलामा पसिना आइरहेको हो ।
भीमसेनलाई पसिना आएको भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले क्यानडानेपालसँग पुष्टी गरेका छन् । भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको छ ।
भीमसेनलाई पसिना आउँदा मुलुकका शुभ तथा अनिष्ट हुने संकेतको रुपमा लिइने गरिएको छ । दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ ।
भीमसेनको शीलामा पसिना आएपछि कपासले पुछेर राष्ट्र प्रमुखलाई पठाउने र राष्ट्र प्रमुखबाट क्षमा पूजाका लागि दान दक्षिणासहित पूजा सामग्री पठाउने चलन रहँदै आएको छ ।
यसअघि पछिल्लोपटक २०७६ फागुन ८ गते भीमसेनलाई पसिना आएको थियो । मुलुकमा ठूल्ठूला घटना हुँदा पनि दोलखा भीमसेनलाई पसिना आएको स्थानीयहरु बताउँछन् ।