हुलाकी न्यूज, जनकपुर : मिथिलाञ्चलमा आज अक्षय नवमी पर्वको रमझम छ। मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज जताततै मैथिल (मिथिलाका बासिन्दा) यसको तयारीमा जुटेका छन्।
यस पर्वमा अमला (धातृ) को रुखको फेदमा खाना खाने परम्परा छ। पर्वमा बगैँचा र वन क्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिएका छन्। आफ्नै आँगन वा खेतबारी बगैँचामा अमलाका रुख हुनेले यसै ठाउँमा र कतिपयले वनक्षेत्रका अमलाका रुखमुनि वनभोजको तयारी गरेको देखिएको छ। पर्वमा अनिवार्यरूपले अमलाका विभिन्न परिकार बनाइने मैथिल परम्परा छ।
यस पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित शाकाहारी खानेकुरा मात्र भोजमा पकाउने खाने परम्परा रहेको छ।
पर्व विशेषमा खासगरी किशोर र युवा वनभोजको रमाइलो लिन आज एकाबिहानै वनक्षेत्रका विभिन्न पार्क र वनभोजस्थल पुगेका छन्। खासमा यो पर्वमा दिनभरि भगवान् विष्णुको आराधना गर्दै व्रत बसेर साँझ अमलाको रुखमुनि सहभोज गरिने परम्परा रहेको छ। सहभोजको चलन साँझपख रहेको र परिवारका सम्पूर्ण सदस्य सहभागी हुने हुँदा यस भेगमा धेरैजसोले आफ्नै घरआँगन र नजिकको बगैँचामा भोजको आयोजन गर्ने गरेका देखिन्छ।
मिथिलामा यो पर्वलाई कुष्माण्डा नवमी पनि भन्ने गरिएको छ। कात्तिक शुक्ल नवमीकै दिन द्वापर युगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई सम्हार गरेर कंश बध गर्नुपूर्व मथुरा, वृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेको विश्वासमा कुष्माण्ड र पर्वमा अमलाको रुख तथा फलका परिकारको महत्व दर्शाउन धातृनवमी भनिएको छ। मैथिलीमा अमलालाई ‘धातृ’ भनिन्छ।
कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने हिन्दू जनविश्वास रहेको छ। अक्षय नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुुख प्राप्त हुने हिन्दू मैथिल जनश्रुति छ।