हुलाकी न्यूज, काठमाडौं, १२ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारी वार्ता टोलीबीच बिहिबार तेस्रो चरणको वार्ता हुँदैछ । बिहिबारको वार्तापछि मधेशी मोर्चाले आगामी रणनीति बनाउन सक्ने हुँदा यो वार्ता निकै महत्वपूर्ण हुनेछ ।

यता, मधेशी मोर्चाको वार्ता टोली बिहिबारको वार्ता पनि खासै फलदायी हुनेमा आशावादी छैनन् । वार्ता टोलीका सदस्य एवं सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले सरकारी टोलीले बिहिबार प्रदेशको सीमांकनलगायतका विषयमा कुनै ठोस धारणा वा एजेण्डा राख्नेमा खासै आशावादी नरहेको प्रतिक्रिया दिए । हुलाकी न्यूजसँग कुरा गर्दै कर्णले भने, अब उनीहरुले केही कुरा नै गर्दैनन् भने हामी के गर्ने ? वार्ताबाट निष्कर्ष निस्किन्छ वा निस्किदैन भन्ने प्रसंगमा पनि कर्णसँग कुनै ठोस जवाफ छैन ।

त्यस्तै, बिहिबारको वार्ताले कुनै निष्कर्ष दिनेमा तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी पनि खासै आशावादी छैनन् । सरकारी पक्षले मधेश आन्दोलनलाई पूर्ण बेवास्ता गरिरहेको भन्दै उपाध्यक्ष त्रिपाठीले बिहिबारको वार्तामा पनि सरकारी टोलीले यस्तै रवैया अपनाए मधेशी मोर्चा वार्ताको विषयमा गम्भीर हुने र पुनर्विचार गर्ने बताए ।

हुलाकी न्यूजलाई प्रतिक्रिया दिँदै उनले बिहिबारको वार्ता निर्णायक नहुने र आजको वार्तापछि मधेशी मोर्चाले अहिलेसम्मका वार्ता र सरकारी रवैयाको विश्लेषण गरेर थप नीति बनाउने बताए ।

त्रिपाठीले सरकारी टोलीले वार्तामार्फत केवल छकाउन खोजेको भन्दै बिहिबारको वार्तामा प्रदेश सीमांकनका बारेमा ठोस प्रस्ताव नआए वार्ता र सरकारी वार्ता टोलीका बारेमा पुनर्विचार गर्ने बताए । बिहिबारको वार्तामा सरकारी टोली मुख्य राजनीतिक मुद्दाहरुमा प्रवेश नगरे सरकार, राज्य र तीन दल वार्ताप्रति गम्भीर नरहेको निष्कर्षमा आफूहरु पुग्ने उनले बताए ।

यसैबीच कार्तिक १४ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्दैछ । १४ गतेको बैठकमा अहिलेसम्म भएको वार्ताको विश्लेषण गरिने र त्यही अनुरुप आगामी रणनीति तय गरिने नेता त्रिपाठीले बताएका छन् । त्यस कारणले पनि बिहिबारको वार्ता महत्वपूर्ण रहेको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.