हुलाकी न्यूज, काठमाडौं, १२ कार्तिक । नेकपा एमाले नेतृ विद्या भण्डारी देशको दोस्रो राष्ट्रपति चुनिएसँगै पहिलो राष्ट्रपति डा. रामवरण यादवको कार्यकाल सकिएको छ । २०६५ साउन ८ गते गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा निर्वाचित भएका यादवले सात वर्षभन्दा बढी समय राष्ट्र प्रमुखको रुपमा कार्यकाल बिताए । यस बीचमा मुुलुकमा धेरै उतारचढाव भयो । देशमा दुईवटा संविधानसभाको निर्वाचन भयो । जनताको प्रतिनिधिद्वारा लेखिएको देशको पहिलो संविधान जारी गर्ने सौभाग्य पनि मधेशी मुलका देशको पहिलो राष्ट्रपति यादवले पाए । तर, सात वर्ष लामो कार्यकालमा यादवले आलोचना पनि धेरै खपे ।

देशकै पहिलो राष्ट्रपतिको रुपमा मधेशी मुलका डा. यादव चुनिएपछि मधेशी समुदायका लागि गौरवको विषय थियो । तर, मधेशविरोधी नीति र चरित्र देखाएको भन्दै मधेशी समुदायबाटै उनको आलोचना भइरह्यो । नेपाली कांग्रेसबाट राष्ट्रपति चुनिएका यादवले कार्यकाल भरी नै पार्टी नीतिको समर्थन गरेको देखियो । जसले गर्दा मधेशी समुदायले उनलाई मधेशविरोधी भनेर पनि भन्यो । लगभग आफ्नो पुरा कार्यकालमा निवर्तमान राष्ट्रपति यादवले आफ्नो समुदाय मधेशी समुदायका लागि कुनै हितकर निर्णय र विचार नराखी बिताए । तर, कार्यकालको अन्तिम समयमा संविधान जारी हुने बखत उनी मधेशप्रति केही सकारात्मक देखिए । कार्यकाल सकिने बेलामा यादवले मधेशी समुदायको लागि आवाज उठाउने हिम्मत देखाएका थिए ।

नेपालकै पहिलो राष्ट्रपति मधेशी मुलको हुनु आफैमा ऐतिहासिक छ । बुधबार, कार्तिक ११ गते भएको राष्ट्रपति निर्वाचनबाट विद्या भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चुनिएसँगै अब यादवले शितल निवास छोड्दैछन् । बिहिबार शितल निवासमा नयाँ राष्ट्रपति भण्डारीलाई पदभार हस्तान्तरण गरेर उनी आफ्नो नयाँ वासस्थानतर्फ जानेछन् ।

अवकाश प्राप्त राष्ट्रपति यादव सरकारले व्यवस्था गरिदिएको आवासमा बस्ने भएका छन् । यादवलाई सरकारले ललितपुरको भैंसेपाटी र एकान्तकुना आसपासमा सुविधासम्पन्न आवासको व्यवस्था मिलाएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.