हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजका कर्मचारीहरू आमरण आनशनमा बसेका स्वास्थ्य अवस्था बिग्रिएपछि आईसियूमा भर्नागरी उपचार थालिएको छ।
तलब, ६ वर्षको सञ्चय कोष र ६ वर्षको दसैँ भत्ता र हिसाबकिता पारदर्शिताको माग राख्दै अनशनमा बसेका दुई कर्मचारीमध्ये जानकी शरण यादवको अवस्था चिन्ताजनक बन्दै गएको छ।
कलेज परिसरमै अनशन बसेका उनीहरुको स्वासथ्य अवस्था गम्भीर देखिएपछि प्रहरीले बुधवार प्रादेशिक अस्पताल जनकपुरमा उनीहरुलाई भर्ना गरेका थिए।
तर हालसम्म कलेज प्रशासनले अनशनरत पक्षसँग वार्ताको वातावरण नबनाएको र पहल नथालेको कर्मचारीहरु बताउँछन् ।
‘हामी संस्थाको सुधारकालागी आन्दोलन गरिरहेका छौँ । तर हामी राज्य पक्षसँग लडेको प्रशासनको बुझाइ छ,’ कर्मचारी हकहित संरक्षण मञ्चका संयोजक उमेश यादवले भने, ‘सिडियो साबले आउनुस वार्ता गर्नुस भनेर भन्दै हुनुहुन्छ। तर श्रम शोषण र अन्याय भैरहेको वहाँहरु देख्नुहुन्न। दोषीलाई कानुनी दायरमा नल्याई वहाँले मालिकसँग सेटिंग मिलाएर हाम्रा माग दबाउन खोज्दै हुनुहुन्छ ।’
अस्पताल सुधार तथा श्रम शोषण विरुद्धका मागहरु राखी उनीहरु अनसनमा बसेको ११ औं दिन भइसक्दा पनि सम्बन्धित पक्षले बेवास्ता गरेको प्रति डा गोविन्द केसीले समेत विज्ञप्ती जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘उहाँहरुसँग विगतमा भएका सहमति पालना नगरिनु र अनसन बसेको ११ औँ दिन पुगिसक्दा समेत सम्बन्धित निकायबाट बेवास्ता गरिनु दुर्भाग्यपूर्ण छ। यो अवस्थामा उहाँहरुका माग यथाशीघ्र पूरा गरी जीवन रक्षा गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दछौँ,’ जारी विज्ञप्तीमा उल्लेख छ।
अस्पतालको ईमर्जेन्सी सेवा ठप्प गरी कलेजका मेडिकल स्टाफ, पारा मेडिकल स्टाफ, सुरक्षा गार्डसहित एक सय १५ जना कर्मचारी गत १२ असोजदेखि नै चरणबद्ध आन्दोलनमा हुन् ।