रंजन भण्डारी, जलेश्वर, ११ कार्तिक । आन्दोलनकारीले धर्ना दिइरहेका महोत्तरीको नाकाहरुमा भजन किर्तन हुन थालेको छ ।
महोत्तरीको भिठामोड र मटिहानी सीमानाकामा मधेर्शीले चाँडै आफ्नो अधिकार पाओस भन्दै भजन किर्तन सुरु गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायतका अन्य मधेशी मोर्चाहरुले चौबीसै घण्टा धर्ना दिइरहेकाले आन्दोलनकारीको तनाव कम गर्न भजन मण्डलीले भजन किर्तन गरेको हो । भजन किर्तनले थप उर्जा प्रदान गरेको आन्दोलनकारीले बताएका छन् ।
बुधवार मटिहानी मधवापुर सीमानाकामा भजन किर्तनमा मोर्चाआबद्ध जिल्ला र केन्द्रिय व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
त्यस्तै मोर्चाले पेट्रोल कालोबाजारी गर्नेमाथि निगरानी र कडाई यथावत राखेको छ ।
बुधबार नै मधेश आन्दोलनमा ऐक्यबद्धता जनाउँदै जलेश्वरमा मोटरसाईकल पनि र्याली निकालिएको छ ।
त्यस्तै मिथिला सांस्कृतिक विकास केन्द्र महोत्तरी जलेश्वरले जलेश्वरनाथ महादेव मन्दिर परिसरमा प्रहरीद्वारा हत्या गरिएका रोहन चौधरी, रामविवेक यादव, अमित कापर, विरेन्द्र विच्छा, रामशिला देवी मण्डल र गणेश चौधरीलाई श्रद्धान्जली दिँदै गीता पाठ र दिप प्रज्वलन गरेको छ । केन्द्रका अध्यक्ष प्राध्यापक ताराकान्त झाले महोत्तरीमा प्रहरीले घोर दमन गरी निहत्थाहरुलाई ताकेर गोली हानेर गम्भिर गल्ती गरेको बताउँदै सत्ताका लोभीहरुले प्रहरीको भरमा निर्दोष जनता मार्नु ठुलो अपराध भएको बताए ।
वक्ताहरुले महोत्तरीबाटै ६ जनाले मधेशीको हक र अधिकारको लागि विरगती प्राप्त गरेकोले यो शोकको नभई गौरवको विषय भएको र सहिदको विरगतीलाई खेर जान नदिने बताए । उनीहरुले जुन अधिकारको लडाईमा महोत्तरीवासी सहिद बनेका हुन् त्यो अधिकार लिएरै छाड्ने अठोट लिए ।




