हुलाकी न्यूज,काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को आन्तरिक मूल्यांकनको प्राप्ताङ्क मंसिर ८ गतेभित्र परीक्ष नियन्त्रण कार्यालयमा पठाइसक्न निर्देशन दिएको छ।

बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सूचना प्रकाशित गरी मंसिर ८ गतेभित्र कार्यविधिअनुसार आन्तरिक मूल्यांकन प्राप्ताङ्क बोर्डका सम्बन्धित कार्यालयहरुमा पठाउन निर्देशन दिएको हो।

विशेष परिस्थितिका कारण यसवर्ष बोर्डले कक्षा १२ का लागि नयाँ कार्यविधि जारी गरेको हो।  कोरोना भाइरसको महामारीका कारण गत बैशाखमा हुनपर्ने परीक्षा हुन नसकेपछि बोर्डले नयाँ कार्यविधिअनुसार मंसिर ९ गतेदेखि लिखित परीक्षा लिन लागेको छ। विद्यालयहरुले आफ्ना विद्यार्थीको आन्तरिक मूल्यांकन गरी २० प्रतिशतसम्म नम्वर प्रदान गर्ने कार्यविधि रहेको छ।

आफ्नो सेवा क्षेत्रभित्रका विद्यालयहरूबाट आन्तरिक मूल्याङ्कनको अंक प्राप्त गरी तोकिएको ढाँचामा परीक्षा नियन्त्रण कार्यालयमा पठाउन बोर्डले बोर्डका शाखा तथा प्रदेश परीक्षा व्यवस्थापन कार्यालयहरूले समेत निर्देशन दिएको छ।

यसपटक बोर्डले ४० पूर्णाङ्कको मात्रै परीक्षा लिन लागेको छ । प्रयोगगात्मक विषयको अंक भारलाई यथावत राखि सैद्धान्तिक तर्फको अंक भारलाई शत प्रतिशत मानि सो को ४०, ४० र २० प्रतिशत अंक भार निर्धारण गरिएको छ।

विद्यार्थीले १०० पूर्णाकमध्ये जम्मा ४० प्रतिशतको मात्रै लिखित परीक्षा दिनेछन् । बाँकी ४० प्रतिशत कक्षा ११ को रिजल्टबाट समावेश हुनेछ भने २० प्रतिशत विद्यार्थीको आन्तरिक मूल्यांकन गरी विद्यालयले नै प्रदान गर्नेछन्।

यसपटक विद्यार्थीको उत्तर पुस्तिका परीक्षणका लागि एक परीक्षा केन्द्रबाट अर्को स्थानमा पुर्याइने छैन। अर्थात, विद्यार्थीले जुन विद्यालयमा परीक्षा दिएका छन्, सोही विद्यालयका शिक्षकले नै उत्तर पुस्तिका परीक्षण गर्नेछन्। यसको सम्परीक्षण राष्ट्रिय परीक्षा बोर्डले लिनेछ। तर, यदि विद्यालयमा उत्तर पुस्तिका परीक्षणका लागि परीक्षा बोर्डले तोकको योग्यता पुगेका विषय शिक्षक नभएमा बोर्डका सम्बन्धित कार्यालयसँग समन्वय गरी उत्तरपुस्तिका परीक्षण गराइने ।

कोरोना भाइरसको महामारीका बीच हुन लागेको परीक्षा भएका कारण विद्यार्थीलाई केही छुट दिइएको छ। जसअनुसार कोरोना संक्रमण भएको पुष्टि भएका विद्यार्थीले पुनः परीक्ष दिन पाउनेछन्। यसैगरी कोरोनाको शंका लागेका विद्यार्थीलाई विद्यालयमा छुट्टै कक्षा कोठामा राखेर परीक्षा दिन लगाइने कार्यविधि बनाइएको छ।

परीक्षा केन्द्रमा निरीक्षक खटाईदा सम्बन्धित विषयको विषय शिक्षक भन्दा बाहेकका शिक्षक र कर्मचारी खटाउने कार्यविधिमा उल्लेख गरिएको छ। सम्बन्धित विद्यालयको प्रधानाध्यापक सो विद्यालयको केन्द्रको केन्द्राध्य बन्नेछन्।

परीक्षाको क्रममा जनस्वास्थ्यका सबै मापदण्ड पुरा गर्ने जनाइएको छ। दुई जना विद्यार्थीबीचको दुरी दुई मिटर तय गरी सिट प्लानिङ हुनेछ । एउटा परीक्षा हलभित्र २० जना विद्यार्थीलाई मात्र राखिनेछ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.