हुलाकी न्यूज, सिरहा, ११ कार्तिक । सिरहामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अगुवाईमा मसाल जुलुस निकालिएको छ । तराई मधेश लोकतान्त्रिक पार्टीको भ्रातृ संगठन तराई मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष सुरेश मण्डललगायतकाको नेतृत्वमा बुधबार साँझ मोटरसाइकलमा मसाल जुलुस निकालिएको हो ।
सिरहा–६ को कल्याणपुर बजारबाट मोटरसाइकलमा निस्किएको मसाल जुलुस मझाउ, करुणियाही, अरनामा, बनिनिया, करहरवा, कट्टी, बेलहा बजारहुँदै फेरि बनिनियामा आएर कोणसभामा परिणत भएको थियो । लगभग १० किलोमिटर लामो बाटोमा मोटरसाइकलको हर्न बजाउँदै मसाल बोकेर प्रदर्शनकारीले सिरहाको विभिन्न ठाउँको परिक्रमा गरेका थिए ।
बेलहा बजारमा रहेको पुलिसचौकी अगाडि नाराबाजी गरेर उनीहरु कोणसभाका लागि बनिनिया फर्केका थिए । प्रदर्शनमा नवनिर्वाचित राष्ट्रपति विद्या देवी भण्डारीको पुतला पनि दहन गरिएको छ ।
कोणसभालाई संबोधन गर्दै युवा नेता मण्डलले मधेशको माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताए । उनले ७५ दिनको आन्दोलन र एक महिना लामो नाकाबन्दी गर्दा पनि सरकार मौन भएकाले सरकारलाई ब्युँझाउन हर्न बजाउँदै मसाल जुलुस निकालिएको जनाएका छन् ।
तस्विर : फाइल फोटो



