हुलाकी न्यूज, बिराटनगर, ११ कार्तिक । जारी मधेश आन्दोलनका क्रममा बिराटनगरमा सडक अवरुद्ध र बन्द गराउने क्रममा संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादव, तमलोपाका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला अध्यक्ष मोहअम्मद कादिर र संघीय समाजवादी फोरमका जिल्ला सदस्य कन्हैयालाल साहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बिराटनगरको शनीमन्दीर चौकबाट प्रहरीले पक्राउ गरेको बताइएको छ ।
बुधबार विराटनगरमा मधेशी मोर्चाका कार्यकर्ता र बन्दको विरोधमा उत्रेको समूहबीच झडप पनि भएको छ । बुधबार बिहानै बन्द गराउँदै हिँडेका बन्दकर्ताको प्रतिकार गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।
बिराटनगरको महाबिर चोकमा शान्तिपूर्ण बन्द गराउँदै हिँडेका आन्दोलनकारीलाई प्रहरीको आडमा व्यवसायीले ढुङ्गा हानेपछि झडप भएको संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष राजकुमार यादवले बताएका छन् । सोही क्रममा तीनजना नेतालाई प्रहरीले पक्राउ गरेकोे मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रमोद खरेलले बताए । प्रहरी नायव उपरिक्षक खरेलले सडकमा बसेर धर्ना दिएकोले सडक अबरुद्ध गर्न नदिने आदेश अनुसार उनीहरुलाई पक्राउ गरिएको बताएका छन् ।



