हुलाकी न्यूज,काठमाडौँ : मिस नेपाल २०२० को फाइनल मंसिर २० गते हुने भएको छ। कोरोनाका कारण रोकिएको प्रतियोगिताको फाइनल मंसिर २० गते हुने भएको हो। केहीदिन अगाडि काठमाडौं अडिसन सम्पन्न गरिसकेको आयोजक हिडन ट्रेजरले फाइनलको तयारी सुरु गरिसकेको जनाएको छ।
प्रतियोगिताका लागि २१ जना प्रतिस्पर्धी छनोट गरिएको हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णीकारले जानकारी दिए।
“यो वर्ष २१ जना प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुनेछ। यसका लागि हामीले देशका मूख्य ९ सहरबाट प्रतिस्पर्धी छनोट गरिसकेका छौं। अहिले उहाँहरु तालिममा सहभागी भइरहनु भएको छ,” अध्यक्ष दिवाकरले भने, “पब्लिकमा गएर प्राक्टिकलरुपमा गरिने क्रियाकलापबाहेक अन्य सबै गतिविधि तथा तालिमहरु यो वर्ष हुनेछन् र भइरहेका छन्।”
अन्य वर्ष तीनदिन रेसिडेन्सियल तालिम गराउने आयोजकले यो वर्ष १५ दिन होटलमा राखेर प्रतिस्पर्धीलाई ट्रेनरबाट तालिम दिने छ।
यो वर्षको फाइनलमा दर्शक भने सहभागी हुने छैनन् । दर्शकले भर्चुअल रुपमा टेलिभिजन तथा सामाजिक सञ्जालमा फाइनल हेर्न सक्नेछन्। कोरोनाको जोखिमका कारण दर्शकको उपस्थितिमा कार्यक्रम गर्न सम्भव नभएको आयोजकको भनाइ छ।
“फाइनल स्टेज निर्माण गरेर पहिलाको जस्तै फिजिकल रुपमा निर्णायक राखेर नै गरिने छ,” दिवाकार भन्छन्, “मात्रै यो वर्ष स्टेजमा दर्शक हुने छैनन् । बाँकी अन्य कुरामा हामी कुनै सम्झौता गर्ने छैनौं । प्राइज मनी पनि घटाएका छैनौं । शो को स्टान्टर र इमेज मेन्टेन गर्न पनि हामी कुनै पनि पक्षमा सम्झौता गर्दैनौं ।”
हिडन ट्रेजरले कोरोना संक्रमणको जोखिम सुरु हुनुभन्दा अगाडि नै काठमाडौं बाहेक मुलुकका अन्य आठ सहरमा अडिसन लिएको थियो । कोरोनाका कारण केही महिना रोकिएको प्रतियोगिता पुनः सुरु भएको हो ।
तस्बिरः हिडन ट्रेजरको अफिसियल वेबपेजबाट