हुलाकी न्यूज,काठमाडौं : गोलकिपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ। मैत्रीपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले बंगलादेशको एक साता बसाइमा घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किनेछ।

लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश जाँदै गर्दा निकै उत्साही देखिएको छ। बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा ८ नयाँ अनुहारले स्थान बनाउँदा अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोलीबाहिर छन्। यस्तै अन्य सात खेलाडीमा कोरोना देखिएपछि ती खेलाडीको भ्रमण स्थगित भएको छ र उनीहरु आइसोलेसनमा छन्।

दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ पहिलोपटक सिनियर टोलीमा अटाएका हुन्। मैत्रीपूर्ण खेलका लागि बुधबार गरिएको सामान्य बिदाइ कार्यक्रमपछि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एक साताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र एक साताको बंगलादेश बसाइ थप फलदायी हुने अपेक्षा व्यक्त गरे।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । कोरोनाको महामारीपछि फुटबलमा फर्किन पाउँदा खेलाडीमा उत्साह थपिएको कप्तान किरण चेम्जोङले बताए । तर महामारीका बीच सुरु भएको छोटो अभ्यासले मैत्रीपूर्ण खेल निकै चुनौती पूर्ण भएको उनको प्रतिक्रिया छ।

यस्तै टोलीका फरवार्ड भरत खवासले फुटबलमा फर्किन पाउँदा निकै खुसी लागेको बताए। साथै बंगलादेशसँगको मैत्रीपूर्ण खेलले टोलीलाई अनुभव र नयाँ अनुहारलाई मैत्रीपूर्ण खेलले अनुभव दिने पनि उनले बताए । नयाँ खेलाडीमा सम्भावना भएको भन्दै टोलीले मैत्रीपूर्ण खेलमा सुखद नतिजा निक्लिने खवासको विश्‍वास थियो।

अखिल  नेपाल फुटबल संघ (एन्फा) ले प्रस्थान गर्नुअघि टोलीको कोरोना पीसीआर परीक्षण गरेको थियो । उक्त परीक्षणमा दुई खेलाडीमा कोरोना देखिएको थियो । टोलीले बंगलादेशमा एक साता बिताएपछि मात्रै मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.