हुलाकी न्यूज, काठमाडौं, ११ कार्तिक । सत्तारुढ एकीकृत नेकपा माओवादीले तराई मधेशमा आन्दोलनरत थारु र मधेशीलाई सम्बोधन गर्न मधेशमा दुईवटा प्रदेशको प्रस्ताव उच्चस्तरीय राजनीतिक समितिमा राखेको छ । तर, मधेशी मोर्चाले भनेजस्तो झापा, मोरङ, सुनसरी र कैलाली कञ्चनपुरसहितको दुई प्रदेश भने सम्भव नभएको एमाओवादीले प्रष्ट पारेको छ ।

एमाओवादीले उच्चस्तरीय राजनीतिक समितिमा यस्तो प्रस्ताव राखेपनि अहिलेको सात प्रदेशको सीमांकन हेरफेर गर्न प्रमुख सत्तारुढ दलहरुबीच ठोस सहमति भइसकेको छैन । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार राजनीतिक समितिको बैठकमा आन्दोलनरत पक्षलाई राजनीतिक सम्बोधन गरेर समाधान खोज्नुपर्ने प्रस्ताव राखिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले थारुलाई सम्बोधन गर्ने, मधेशमा दुईवटा प्रदेशको स्थिति सिर्जना गर्ने र अरु पनि त्यसमै मिलाएर सम्बोधन गर्न सकियो भने मुलभूत रुपमा समस्या समाधान हुने बताए ।

थारु समुदाय र मगरातलाई सीमांकनमा सम्बोधन नभएको भन्दै एमाओवादीले त्यसका लागि दलहरु अग्रसर हुनुपर्ने बताएको छ । मधेशी मोर्चासँग पनि छलफल भइरहेको भन्दै उसले संशोधन प्रस्तावको भाषा मिलाइने बताएको छ । एमाले, कांग्रेससहित आन्दोलनकारी शक्तिहरुसँग कुरा भइरहेको भन्दै श्रेष्ठल १२ गते राजनीतिक संयन्त्रमा छलफल गरेर निष्कर्षमा पुग्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.