हुलाकी न्यूज, काठमाडौं, ११ कार्तिक । चिनबाट पेट्रोलियम पदार्थ आउने तयारी भइरहँदा भारतीय नाकाहरुबाट भने केही दिन यता डिजेल पेट्रोललगायतका इन्धनसामग्री आउन बन्द भएको छ । भारतसँग सीमा जोडिएका मुख्य नाकाहरुमध्ये वीरगंज, बिराटनगरलगायतका नाकाबाट इन्धन आउन पूर्ण रुपले रोकिएको बेला केही दिनदेखि रुपन्देहीको बेलहिया नाकाबाट पनि पेट्रोलियम पदार्थ नेपाल आएन । बेलहिया नाकाबाट फाट्टफुट्ट पेट्रोलियम पदार्थ भित्रिने गरेको भएपनि सोमबारबाटै उक्त नाकाबाट एउटा पनि पेट्रोलियम पदार्थ बोकेको गाडी नेपाल भित्रिएको छैन ।

आइतबार २० वटा इन्धन बोकेका गाडी छिरेको बेलहिया नाकाबाट त्यसपछि दुई दिनमा एउटा पनि इन्धनका गाडी नआएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक अभव विक्रम शाहले जानकारी दिएका छन् । सिमानाका सहजरुपमा सञ्चालनमा आई अक्सिजन, केमिकल, खाद्यान्न र फलफूलका गाडी धमाधम भित्रिए पनि पेट्रोलियम पदार्थका गाडी भने नभित्रिएको उनले जानकारी दिए ।

उनका अनुसार सोमबार दिनभरमा एउटा एलपी ग्याससहित झण्डै ८० वटा र आइतबार दिउँसोसम्ममा पनि ३० वटा जति गाडी भित्रिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.