अस्ट्रियाको राजधानी भिएनामा भएको आतंकवादी हमलामा परी एकजनाको ज्यान गएको छ । अस्ट्रियन प्रहरी अधिकारीका अनुसार एक प्रहरीसहित १५ जना घाइते भएका छन् ।
स्वचालित हतियार प्रयोग गरेका संदिग्ध समूहले सहरका विभिनन ६ स्थानमा गोली चलाएका थिए । यो हमलालाई अस्ट्रियाका चान्सलर जेबास्टियन कुर्ट्सले घृणित आतंकवादी घटनाको संज्ञा दिएका छन् ।
सन्दिग्ध समूहले गोली चलाएपछि प्रहरीलेसमेत गोली चलाएको र सो क्रममा एकजना हमलाकारी मारिएका छन् भने एकजनालाई नियन्त्रणमा लिइएको अस्ट्रियन प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।
हमलापछि त्यहाँ स्थानीयलाई बाहिर ननिस्कन र यातायात प्रयोग नगर्न भनिएको छ । हमला भएको क्षेत्रलाई घेरा हालेर प्रहरीले हमलाकारीमाथिको कारबाही सुरु गरेको समाचारमा उल्लेख गरिएको छ ।
यो घटनाप्रति युरोपेली नेताहरुले दुःख व्यक्त गरेका छन् ।
एजेन्सी