रमेश ठाकुर, रौतहट, १० कार्तिक । तराई मधेश राष्ट्रिय अभियानका नेता तथा कार्यकर्ताहरुले आज रौतहटको सदरमुकाम गौरमा जंजीर जुलुस प्रदर्शन गरेका छन् ।
विगत ७३ दिन देखी तराई मधेशमा जारी बन्द हड्तालले मधेशी नागरिकको जनजिवन कष्टकर हुँदा पनि सरकारले कुनै वास्ता नगरेको तथा मधेशका जायज माँगहरुको बारेमा गम्भीर नभएको भन्दै मधेशमा जिल्लाहरुमा विभिन्न किसिमका प्रदर्शन हुँदै आएका छन् ।
तीन ठूला दलहरु मिलेर मधेशी जनतालाई दास बनाउन चाहेको भन्दै सोही शैलीमा सरकार विरुद्ध प्रदर्शन गरिएको तमरा अभियानका जिल्ला संयोजक रविन्द्र गोपालीले बताए । मंगलबार दिउँसो गोपालीको नेतृत्वमा फलामे सिक्रीमा बाँधिएर गौरको मधेश क्रान्ति चोकबाट सुरु भएको शान्तिपुर्ण जंजीर जुलुस नेपाल भारत सीमाको अनशन स्थलमा गएर समाप्त भएको थियो ।
तमराले निकालेको उक्त जंजीर जुलुसमा सँयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुको पनि बाक्लो उपस्थिती थियो ।
त्यस्तै मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले गौर चन्द्रनिगाहरपुर सडकखण्डको सबगढा, झुनखुन्वा, सखुअवा, शिवनगर, गरुडा, विर्ता लगायत विभिन्न स्थानमा बीच बाटो मै पाल टाँगेर बस्दै बाटो बन्द गरेपछि राजमार्ग सुनसान भएको छ । मोर्चाले मोटरसाईकल संचालनमा समेत रोक लगाएको छ ।




great work by Rabi yadav