
रघुबीर महासेठ
नेकपा स्थायी समिति सदस्य
सत्तारुढ नेपाल कम्युष्टि पार्टी(नेकपा)भित्रको विवाद जिल्ला स्तरसम्म चुलिएको छ। प्रदेश २ मा पनि विवादले चर्को रुप लिएपछि नेकपा स्थायी समिति सदस्य रघुबीर महासेठले विधान विपरीत काम गर्ने नेताहरुलाई कारवाही हुने चेतावनी दिएका छन्। विधान विपरीत काम गर्नेहरुले पार्टीमा बस्नुभन्दा छोडेर जानु उपयुक्त हुने उनले सुझावसमेत दिएका छन्।
पछिल्लो समय प्रदेश नम्बर २ मा नेकपाका स्थायी समिति सदस्य मातृका प्रसाद यादवलगायतले नेकपाको विधान विपरीत नयाँ पार्टीको सदस्यता वितरण गरिरहेको प्रमाणहरु सार्वजनिक भएको थियो।
नेकपाको विवाद र समसामायिक विषयमा नेकपा स्थायी समिति सदस्य महासेठसँग हुलाकी न्यूजका सम्पादक बीपी साहले गरेको कुराकानीको सम्पादित अंशः
० नेकपा एकीकरण भएको लामै समय भयो तर समयोजन हुन सकेको छैन। केन्द्रदेखि तपाईको जिल्ला धनुषामा पनि विवाद देखिएको छ नि?
– देशका दुईवटा ठुल्ठुला पार्टीहरु एकीकृत भएका छन्। पूर्व नेकपा (एमाले) यो देशको सबभन्दा ठूलो पार्टी थियो। हाम्रो ठूलो संगठन थियो। हामीले बहुदलीय जनवादलाई बाइलेट(मतपत्र)बाट स्वीकार गरेर आयौं। हाम्रो नीति र सिद्धान्तमा आधारित भएर हामी जनताको विचमा गयौं। केही साथीहरुले बुलेटबाट पनि आएर फेरी बुहदलीय व्यवस्थालाई आत्मसाथ गरेर यहाँसम्म आइपुग्नु भयो। अलिकति कार्य व्यस्तताको कारणले तलसम्म समायोजनको काम पुरा हुन सकेन। तर यो अन्तर विरोधहरु चै होइन।
व्यक्तिलाई बोल्न छुट छ। प्रजातन्त्रमा पार्टीमा बोल्न पनि छुट छ। कुन व्यक्ति त्यस्तो कुरा गरिरहेको छ त्यसको कुनै अर्थ छैन आधिकारिक संगठन भित्र। तर, अलिअलि काम ढिलो भएकै हो।
० प्रदेश नम्बर दुई वा तपाईकै जिल्लामा नेताहरुले नयाँ पार्टीको सदस्यता वितरण गरिरहेको ठेली नै फेला परेको छ?
– जहाँसम्म नयाँ पार्टीको सदस्यता बाँड्ने ठेलीको कुरा छ, त्यो बाँड्ने साथीहरुलाई सोध्नु राम्रो हुनेछ। यो पार्टीको विधान विपरीत जाने साथीहरुलाई भन्छु, यदी तपाईहरु त्यस्तो काम गरिराख्नु भएको छ यो विधान विपरीत काम हुन जान्छ। विधान विपरीत काम गरेर उहाँहरु अगाडि बढ्नु भयो भने पार्टीले अनुशासनको कारवाही गर्छ। फेरी पनि मान्नु भएन भने हदैसम्मको कारवाही गर्छ।
० कतिपय त नेकपा परित्याग गर्ने स्थितिमै पुगेका छन् नि?
– पार्टी त्याग गर्न सबैलाई छुट छ। स्वेच्छाको कुरा हो। हिजो पनि विभिन्न साथीहरु पार्टी त्योग गरेर जानु भएकै हो। एमाले त्याग गरेर गएकै हो। माओवादी छोडेर अर्को पार्टी बनाएकै हो। एमाले परित्याग गर्ने साथीहरु पनि विभिन्न आठ–दश पार्टी घुम्दै–घुम्दै फेरी एमालेमा आउनु भयो। कतिपय माओवादीमा जानु भयो। त्यसैले स्वेच्छाले त्याग गर्नलाई हाम्रो विधानले प्रतिबन्ध लगाएको छैन।
त्यस्तो साथीहरु पार्टीभित्र बस्नुभन्दा जानुनै राम्रो हो। यदी उहाँहरु विधान विपरीत काम गरिराख्नु भएको छ भने। म विश्वस्त के छु भने उहाँहरु धेरै लामो समयदेखि पार्टीमा काम गर्नु भएको छ। विधान बुझ्नु भएको छ। उहाँहरुले अनुशासन भंग गर्नु हुन्न। गर्नु भयो भने कारवाहीमा पर्नु हुन्छ। स्वेच्छाले जानु हुन्छ भने अब हामी रोक्दैनौं।
० अब फरक प्रसंगमा, प्रदेश २ सरकारको अहिलेसम्मको काम कस्तो लाग्यो?
– प्रदेश सरकार असफल भयो भनेर त भन्न सक्दिनँ। तर चुनावताका जुन प्रकारले पहिलेको फोरम र राजपा, अहिलेको जनता समाजवादी पार्टीले जुन स्लोगन दिएर, नारा दिएर घोषणापत्र जारी गरेर चुनाव लड्नु भयो त्यो बाचा अनुसार काम गर्न सक्नु भएन। जहाँसम्म केन्द्र सरकारसँगको टसलको कुरा छ, त्यसमा सत्यता छैन। आफूले काम गर्न नसकेपछि दोष केन्द्र सरकारको टाउकोमा हाल्ने प्रबृत छ। अहिले कुनै पनि प्रदेश सरकारको आफ्नो आम्दनीको श्रोत छैन। सबै बजेट केन्द्र सरकारसँग लिनु हुन्छ। तर, पनि उहाँहरुले खर्च गर्न सक्नु हुन्नँ। त्यसको विभिन्न कारणहरु छन्। खर्च गर्न नसकेपछि
केन्द्र सरकारको कारणले खर्च गर्न सकिनँ, त्यो दोष लगाउनु बेकार हो।
० अनी व्यूरोक्रेसी(कर्मचारीतन्त्र) केन्द्रकै हातमा छन्, व्यूरोक्रेसीले काम गर्न दिदैन?
– व्यूरोक्रेसीको के हात हुन्छ? टेक्निकल मन्त्रालयहरुमा हुन्छ। जुन प्रकारले हामी केन्द्र सरकारले कर्मचारी व्यवस्थापन गरिरहेका छौं, त्यसले अरु प्रदेशमा पनि समस्या छ। यो प्रदेश दुईलाई मात्र परेको छैन। अलि बढी र अलि कम सबै प्रदेशमा समस्या छ। संघीयतामा हामीले भरखर भरखर प्रवेश गरेका छौं। त्यसकारण हामीले सिक्दै जाने छौं।
संघीय सरकारको कुनै कमजोरी छैन। प्रदेश सरकारले घोषणपत्र अनुसार काम गर्नु पर्यो। २ नम्बर प्रदेशका जनताले अहिलेको सरकारको निगरानी गरिरहेको छ।
० संघीय सरकारको परफरमेन्स पनि राम्रो देखिएन नि?
– संघीय सरकारको परफरमेन्स देखिएन भन्ने कुरा होइन। यो सरकारले ३ सय ३९ वटा कानुन बनाउनु पर्ने थियो। जसमध्ये धेरै कानुन बनाएको छ। पहिलो एक वर्ष सात वटा प्रदेश सरकारको कर्मचारी, भवन, सवारी र बजेट व्यवस्थापन गर्नमा लाग्यो। त्यससँगै विकासको क्षेत्रमा ठूलो फड्को मारेको छ। नेपालको नाम नेपाल परेदेखि अहिलेसम्म सात हजार चानचुन मात्र पिच सडक थियो। तर मेरो २० महिनाको अवधिमा ३ हजार ५ सय सडक बनायौं। यसै सरकारको पालामा सुरुङ्ग मार्ग, रेल यातायातलगायतको काम गरेका छौं। यो कृषि क्षेत्रमा पनि काम भएको छ।
० तर अर्थतन्त्र खस्क्यो नि?
नेपालकै मात्र होइन विश्व कै अर्थतन्त्र खस्किएको छ। नेपालको आर्थिक बृद्धिदर करिब–करिब ७ पुगेको थियो। तर, संसारभरीको आर्थिक बृद्धिदर खराब भएको कारण खसेकै हो।
० तपाईको निर्वाचन क्षेत्रको कुरा गरौं, यहाँको निर्वाचन क्षेत्रमा पनि केही विवादका कुरा जनकपुरको एउटा मिडियामा आइरहेको थियो। मिडिया पूर्वाग्राही भएको कि पार्टी?
– हाम्रो पार्टीभित्र त्यस्तो कुनै पूर्वाग्रही छैन। मैले हेरे फलानोलाई बहिस्कार गर्यो। त्यो सब वाहियात कुरा हो। यो खुरपाती मिडियाहरुको काम हो। त्यो मिडिया स्थापना कालदेखि नै विवादित छ। मिडिया जनतालाई सूचना दिनका लागि स्थापना गरिएको हुन्छ। तर, मिडिया हाउसले धम्क्याएर, ब्ल्याकमेल गरेर, गालीगलौचको भाषा लेख्ने काम गरिरहेको छ। त्यो अपराध हो। म त्यस्ता पत्रकार मित्रहरुसँग के अनुरोध गर्छु भने आचार संहिता मान दिनुस्। सही तथ्य छ भने बाहिर ल्याउनुस्। यस्ता कुराहरु बुझेर नेपाल सरकारले नै अलिकति कडा कानुन ल्याउने कि सोच पनि बनाएको थियो।
० यस्तालाई निरुत्साहित गर्ने कि?
– नेपालमा यस्ता पनि पत्रकारहरु छन् जसले आफ्नो पुरा जीवन नै पत्रकारितामा बिताउनु भयो। यही जनकपुरधामकै कुरा गर्नु हुन्छ भने राजेश्वर नेपाली जीको नाम सुनेका छौं। आजसम्म उहाँको कुनै कम्प्लेन सुनेका छैनौं। धेरै पत्रिकाहरुको सुनिएको छैन। केही पत्रिकाहरुबाट त सोझै फोन गरेर यति सहयोग गर्नु पर्यो, उती सहयोग गर्नु पर्यो भन्नु हुन्छ। कानुन छैन। अदालतमा गएपनि १ सय १ एक रुपैंया जरिवाना, ५ सय १ रुपैंया जरिवाना हुन्छ। यदी कैद गर्ने व्यवस्था भएको भए उहाँहरु डराउनु हुन्थ्यो। तर, त्यो एक दिन आउँछ। क्षतिपुर्ति माग गर्ने व्यवस्था ठूलै भईदिएको भए सचेत हुनुहुन्थ्यो। यस्तो साथीहरु समयमै सचेत हुनु भएन भने कहिले काँही जनकारवाहीमा पर्नु हुन्छ। कति सहन्छ मान्छेले।
पुरा अन्तरवार्ता



