हुलाकी न्यूज,काठमााडौं ।देशैभर कोरोना संक्रमण तीव्र भएको समयमा हिन्दूहरूको महान पर्व दशैं सम्पन्न भएको छ।
आफूभन्दा ठूलाबडाको हातबाट टीका थाप्ने र आशीर्वाद लिने पर्वको रूपमा स्थापित दशैं यो वर्ष फरक तरिकाले मनाइएको छ ।सकेसम्म सानो समूहमा दशैं मनाइएको छ भने अधिकांश नागरिक जहाँ छन् त्यहीँ दशैं मनाउन बाध्य भएका छन्।
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रममा रहेका ४० जना वृद्धवृद्धालाई टीका लगाइदिएर दशैं मनाएकी छन्।
‘दशैं मनाउन घर जान पाइएन, यहाँ रहेका वृद्ध बुवाआमाबाटै आशीर्वाद थाप्नका लागि आएकी हुँ,’ मन्त्री केसीले लोकान्तरसँग भनिन्, ‘यहाँका आमाबुवाबाट धेरै माया पाएँ । दशैं जस्तो महान पर्वमा बुवाआमासँग मनाउन पाउनु मेरो लागि अहोभाग्य हो।’
मन्त्री केसीले आश्रममा जाँदा टिका, जमरा, मिठाइ र नगद रकम लिएर गएकी थिइन् ।
मानव सेवा आश्रममा तरकारी खेतीका लागि मन्त्रालयले दुईवटा टनेल समेत निर्माण गरेको छ ।
‘हामी पहिले तरकारी किन्न जानुपर्ने अवस्था थियो, सरकारले दुई टनेल निर्माण गरिदिएका कारण अब हामीलाई सहज हुनेछ,’ मानव सेवा आश्रममा स्वयंसेवा गर्दै आइरहेकी सिर्जना वलीले भनिन्, ‘प्रदेश सरकार मानव सेवा आश्रमप्रति असाध्यै इमान्दार छ । हामीले अभिभावकको रूपमा सरकारलाई लिएका छौं ।’
मुख्यमन्त्रीको दशैं काठमाडौंमा, मन्त्री गृहजिल्लामा
प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले काठमाडौंमा दशैं मनाएका छन् भने सामाजिक विकास मन्त्री दल रावलले हुम्लामा र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले डोल्पामा दशैं मनाएका छन् ।