हुलाकी न्यूज, जलेश्वर, १० कार्तिक । महोत्तरीमा ३४ औं दिनपनि नाकाबन्दी जारी छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय मधेशी मोर्चाले संयुक्त रुपमा महोत्तरीको भिठ्ठामोडलगायतका नाकामा नाकाबन्दी गरिरहेको छ ।
भिठ्ठामोडमा नाकाबन्दीको नेतृत्व गरिरहेकामध्ये एक नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य सुनिल रोहितले नाकाबन्दीलाई झनै सशक्त बनाइएको बताएका छन् । रोहितले महोत्तरीमा नाकाबन्दीका वावजुद ठूलो मात्रामा इन्धनलगायतका सामानको तस्करी र कालोबजारी भइरहेको गुनासो बढ्न थालेपछि नाकाबन्दीमा थप कडाई गरिएको बताए ।
उनले स्थानीय जनताको भान्साका लागि थोरै मात्रामा सामानहरु ल्याउन दिने गरेको तर इन्धन एक थोपा पनि भित्रिन नदिएको दाबी गरेका छन् । रोहितले भने, हामीले स्थानीय जनताको भान्सा कहिले पनि खाली हुनुहुँदैन भन्ने सोच राखेका छौं । त्यसैले घरेलु प्रयोगका लागि थोरै मात्रामा भान्साको सामान ल्याउन दिएका छौं । डिजेल र पेट्रोल अलिकति पनि ल्याउन दिएका छैनौं ।
उनले यसरी भान्साका लागि सामान ल्याउँदा निश्चित परिमाणमा मात्र ल्याउन पाउने बताए । उनले आलु १० किलो, प्याज २ किलो, चिनी २ किलो, चामल २५ किलो र खाने तेल २ लिटरसम्म ल्याउन दिनेगरेको बताएका छन् ।
मोटरसाइकलमा ओहोरदोहोर गर्नेहरुको पनि मोटरसाइकल जाँच गरेर तीन लिटरभन्दा बढी पेट्रोल पाए त्यँही पोखेर नष्ट गरिदिने गरेको बताए ।
महोत्तरीको सम्सीकन्मालगायतका साना नाकाहरुबाट व्यापक रुपमा इन्धनको तस्करी भइरहेको गुनासो बढेपछि त्यँहा दुबै मोर्चाले संयुक्त रुपमा निगरानी बढाएको उनले जनाएका छन् । हाल कुनै पनि नाकाबाट तस्करी नभएको उनी बताउँछन् ।
नेता रोहितले महोत्तरीका स्थानीयले पनि नाकाबन्दीमा व्यापक सहयोग गरिरहेको बताए । उनले दुई महिनाभन्दा लामो मधेश बन्दका कारण दैनिक मजदुरी गरी जिविका धान्ने परिवार विचल्लीमा परेपछि उनीहरुको सहायताका लागि नियमित रुपमा राहत वितरण भइरहेको पनि जनाएका छन् ।
उनका अनुसार घरमा खाद्यान्न भएकाहरुले स्वेच्छाले अन्न दान गरिरहेका छन् । स्थानीय जनता अझै ६ महिनासम्म नाकाबन्दी सहन तयार रहेको तर अधिकार लिएरै छाड्ने अडानमा देखिएको बताउँदै मधेशमा संबोधन नभएसम्म जारी नाकाबन्दी कुनै हालतमा फिर्ता नलिने बताएका छन् ।



