हुलाकी न्यूज, काठमाडौं, १० कार्तिक । प्रधानमन्त्रीको मतदान प्रक्रियामा सहभागी भई आलोचना खेप्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा सहभागी नहुने अनौपचारिक निर्णय गरेको छ । तर नेपाली कांग्रेसको उम्मेदवारको पक्षमा मतदान गर्न दबाब दिने काम शुरू भएपछि मोर्चाका शिर्ष नेताहरूमा हल्ला खल्ला फैलिएको छ ।

हुन त मोर्चामा आबद्ध सबै शिर्ष नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्र यादवले सार्वजनिक रूपमै मतदान प्रक्रियामा सहभागी नहुने घोषणा गरि सकेका छन् । तर मतदान प्रक्रिया शुरू हुनु भन्दा २४ घण्टा पहिले मोर्चाका नेताहरूमाथि दबाब आउन थालेको छ ।

स्रोतले दिएको जानकारी अनुसार कांग्रेसको पक्षमा मतदान गर्न मोर्चाका शिर्ष नेताहरूलाई फोन आउन शुरू भई सकेको छ । मोर्चाका सबै शीर्ष नेतालाई मंगलबार बिहानैदेखि फोन आउने क्रम शुरू भएको मोर्चा निकट स्रोतले बतायो । जवाफमा मोर्चाका नेता एवं सदभावना अध्यक्ष राजेन्द्र महतोले कुनै हालतमा मतदान प्रक्रियामा सहभागी नहुने स्पष्ट जवाफ फर्काएका थिए ।

तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई फोन आएपछि उनले मोर्चाले मतदान नगर्ने निर्णय गरि सकेकाले अप्ठ्यारोमा नपार्न आग्रह गरेको ठाकुर निकट स्रोतले बतायो ।

सदभावना अध्यक्ष महतोले पछिल्लो पटक प्रधानमन्त्रीको मतदान प्रक्रियामा सहभागी भएपछि आफूले दुई महिनासम्म निरन्तर गरेको मेहनत दबाबमा आएर सखाप भएको निष्कर्ष निकाल्दै अब फेरि यस्तो गल्ती नदोहोर्याउने निर्णय लिएका छन् । यसकारण उनले राष्ट्रपति उपराष्ट्रपतिको मतदान प्रक्रियामा कुनै हालतमा सहभागी नहुने र यसपाली कसैको दबाबमा पनि नआउने स्पष्ट पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.