हुलाकी न्यूज, काठमाडौँ : नेपाली सेनाले फुलपातीका दिन हरेक वर्ष गर्दै आएको फुलपाती बढाइँ यस वर्ष सांकेतिक रुपमा मात्र हुने भएको छ।
यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिने जनाइएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारी उक्त समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुनेछिन्। संवैधानिक व्यवस्थानुसार उनी नेपाली सेनाका परमाधिपति हुन्।
दुर्गापूजा एवं विजयोत्सवसँग जोडिएको फूलपाती बढाइँको लामो इतिहास रहे पनि टुँडिखेलको हालको फूलपाती बढाइँ पृथ्वीनारायण शाहको समयदेखि हुँदै आएको छ।
अघिल्ला वर्ष सेनाले भव्य समारोह आयोजना गरी फूलपाती बढाइँ हर्षोल्लासका साथ मनाउँदै आएको थियो।
पूर्वउपरथी जगदीशचन्द्र पोखरेल भन्छन्, ‘मुलुकको पहिचान, संस्कृति र परम्परालाई जीवन्त तुल्याउने सन्दर्भसँग गाँसिएको फूलपाती बढाइँले गर्विलो इतिहास बोकेको छ।’कोभिड–१९ को संक्रमणबाट उत्पन्न परिस्थितिका कारण संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र यस वर्षको फूलपाती बढाइँ आयोजना गरिने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने। उनका अनुसार यस वर्षको बढाइँ थोरै कार्यक्रम सामेल गरिएकाले छोटो अर्थात् करीब आधा घण्टाको हुनेछ।सो अवसरमा सेनाका थोरै सकलदर्जाको सहभागितामा लहरे, एकठ्ठाका अतिरिक्त तोप बढाइँ र ब्याण्ड प्रदर्शन गरिनेछ। कोभिड–१९ जोखिमका कारण पाहुनाको संख्या कटौती गरी १०० जनामा सीमित गरिनेछ। सबै पाहुनालाई उपस्थित हुने स्थानमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ।




