हुलाकी न्यूज,जनकपुरधाम : दसैंको छैटौँ दिन आज बिहीबार जनकपुर सहित तराई क्षेत्रमा ‘बेलनौत’ विधि सम्पन्न गरिँदै छ। माटको प्रतिमा बनाइएका देवी दुर्गाको आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि गरिने मैथिल परम्परा रहँदै आएको छ। ‘बेलनौत’ को अर्थ ‘बेललाई निम्ता दिनु’ भन्ने हुन्छ।
मिथिला क्षेत्रमा बडादसैं पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा सप्तमीका दिन खोल्न (उघार्न) बेल (फल) को भेट्नो प्रयोग गरिने परम्परा रहेको छ। यसका लागि एक दिन अघि षष्ठी तिथिका दिन मध्याह्नपछि बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भन्ने गरिन्छ। आज षष्ठीका दिन मिथिलाका प्रत्येक गाउँ÷नगर बस्तीमा यो विधि सम्पन्न गर्ने तयारी छ।
दशहरा (दसैं) पर्वको छैटौँ दिन यो विधि उत्सवमय वातावरणमा मनाउने मिथिलाको परम्परा छ। यद्यपि यसपालि कोभिड–१९ सङ्क्रमण जोखिमले बाजागाजा र भीडभाड केही नगरी केही प्रतिनिधिले बेलको रुखमा पुगेर यो विधि सम्पन्न गर्नेछन् । सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले भीडभाड नगर्न, नियमित पूजा आराधनाबाहेक देवी शक्तिपीठ र मन्दिरमा मेला उत्सव लगाउन नपाउने गरी नवरात्रभरिका लागि घटस्थापनाकै दिन निषेधाज्ञा जारी गरिसकेको छ।
षष्टीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने मिथिला परम्पराअनुसार ‘बेलनौत’ आज सम्पन्न गरिन लागिएको हो। षष्टीका दिन निम्ता गरिएको बेल टिपेर ल्याई निर्मित देवी प्रतिमाको आँखा बेलको भेट्नुले खोस्रेर उघारिएपछि सर्वसाधारणको दर्शनका लागि खुला गरिने परम्परा रहेको छ|




