हुलाकी न्यूज,काठमाडौं :  विश्वभरि फैलिएको महामारीका कारण रेमिट्यान्स कम हुने अनुमानविपरीतगत भदौमा ८.१ प्रतिशतले वृद्धि भएको छ। जबकि, गत वर्षको भदौमा अघिल्लो वर्षको तुलनामा ०.६ प्रतिशतले घटेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। डलरमा पनि रेमिट्यान्स २.६ प्रतिशतले बढेको छ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड डलर पुगेको छ।अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेकोे थियो ।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगतनयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो।

भदौसम्ममा चालू खाता २६ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २२ अर्ब ६९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ । पुँजीगत ट्रान्सफरमा३३.७प्रतिशतले कमी आई १ अर्ब ९६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.३प्रतिशतले वृद्धि भई २ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ९८ करोड रहेको थियो।

शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको शोधनान्तरस्थिति समीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको छ।

गत असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.३ प्रतिशतले वृद्धि भई २०७७ भदौ मसान्तमा १४ खर्ब ३३ अर्ब ६७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब६५ करोड रहेकोमा २०७७ भदौ मसान्तमा १२ अर्ब २० करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ भदौ मसान्तमा १२ खर्ब ५५अर्बपुगेको छ।

२०७७ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ ।आर्थिक वर्ष २०७७-७८ को दुईमहिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.५ महिनाको वस्तु आयात र १४.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ३८.१ प्रतिशत, १२४.५ प्रतिशत र ३३.६ प्रतिशत रहेको छ। २०७७ असार मसान्तमा यो अनुपात क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७७÷७८ को दुई महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ५० अर्ब ३७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति १ सय ५ अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको थियो। भदौसम्ममा बैंकिङ कारोबारमा आधारित संघीय सरकारको कुल खर्च ५३ अर्ब ५५ करोड रहेको  अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ४३ अर्ब १२ करोड रहेको थियो।

बैंकिङ कारोबारमा आधारित राजस्व संकलन १ खर्ब ०५ अर्ब ३७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन १ खर्ब ४१ अर्ब ५१ करोड रहेको थियो। २०७७ भदौ मसान्तमा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब शून्य ७ अर्ब ९९ करोड नगद मौज्दात रहेको छ।

आर्थिक वर्ष २०७७-७८ को दुई महिनामा प्रदेश सरकारको स्रोत प्राप्ति १५ अर्ब ८ करोड रहेको छ। यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ९ अर्ब ४६ करोड
हस्तान्तरण गरेको छ। यसैगरी, यस अवधिमा प्रदेश सरकारले राजस्व र अन्य स्रोतबाट ५ अर्ब ६३ करोड परिचालन गरेको छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.५२ प्रतिशत छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.