हुलाकी न्यूज, काठमाडौँ : –राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंसीर दोस्रो साता लिने गरि कार्यतालिका सार्वजनिक गर्ने भएको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार सरकारको निर्देशनपछि परीक्षाको अन्तिम तयारी गरिएको हो।
पौडेलका अनुसार परीक्षा आधा घण्टादेखि डेढ घण्टासम्मको मात्रै हुनेछ। यस्तै, कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कन, १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयलले लिने आन्तरिक मुल्यांकनको २० प्रतिशतका आधारमा मूल्यांकन गरिने छ।
परीक्षार्थीलाई आफ्नै विद्यालय वा नजिकको विद्यालयमा पुगेर परीक्षा दिनसक्ने व्यवस्था गरिएको पौडेलले बताए। केही समय अघि ४/५ हजार विद्यार्थी पढिरहेको विद्यालयभन्दा टाढा थिए,’ पौडेलले भने, ‘संख्या केही घट्न पनि सक्छ, उनीहरुलाई नजिकको विद्यालयमा परीक्षा दिन सक्ने व्यवस्था गरेका छौं,
यस्तै, बोर्डले इलोक्ट्रोनिक्स प्रवेश पत्र भए पनि साथमा हुनुपर्ने जनाएको छ।
समयसीमा र परीक्षा मोडालीटी परिवर्तन गरेको बोर्डले प्रश्नपत्रको स्वरुप उस्तै हुने तर छोटा उत्तर दिनुपर्ने खालको हुने जनाएको बोर्डले बताएको छ । ‘प्रश्नपत्र पुरानै पाराले आउँछ,’ बोर्ड अध्यक्ष पौडेलले भने, ‘उत्तर छोटो दिनुपर्ने प्रकारको हुनेछ।
कक्षा १२ को परीक्षा स्थगित भएको ८ महिना पुगिसकेको छ। कोरोना महामारीका कारण स्थगित भएको परीक्षामा ४ लाख ३२ हजार विद्यार्थी सहभागी हुँदैछन् । परीक्षा दिने समयमा कोही विद्यार्थी सङ्क्रमित भएर उपचाररत भएको अवस्था रहे बोर्डले पछि छुट्टै प्रश्नपत्र निकालेर परीक्षा लिने पनि बताएको छ।