हुलाकी न्यूज, काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले बलात्कारीलाई हदैसम्मको सजाय दिनेगरी कानुन संशोधनबारे छलफल भइरहेको बताएकी छन्।
समाजमा बलात्कार, यौनजन्य हिंसा, अपराधका घटना भयावह बन्दै गएकाले कानुन निर्मम बन्नुपर्ने आवाज उठिरहेको छ। बलात्कारीलाई फासीको सजायको माग गर्दै सामाजिक अभियन्ताहरूले आवाज उठाइरहेका छन्। बलात्कारसम्बन्धी कानुन कडा नहुँदा दैनिक सातजनाभन्दा बढी महिलाले यौनजन्य हिंसा र बलात्कार बेहोर्नु परेको उनीहरूको तर्क रहेको छ।
कानुनमन्त्री तुम्बाहाङ्फेले गत महिना तेजाबसम्बन्धी कसुर र बिक्री वितरणसम्बन्धी विद्यमान कानुन संशोधन र नयाँ ऐन ल्याएको बताउँदै बलात्कारीविरुद्ध पनि सरकार निर्मम भएर प्रस्तुत हुने बताएकी हुन् ।
“बलात्कारलाई निरुत्साहित गर्न विद्यमान कानुन हेरफेर हुनसक्छ। प्रधानमन्त्री केपी शर्मा ओली पनि भन्नुभएको छ,” उनी भन्छिन्, “बलात्कारसम्बन्धी विद्यमान कानुन संशोधन गर्नुपर्छ भन्ने खालको माग पीडित पक्षबाट पनि आइरहेको छ । सरोकारवालाहरूले पनि उठाइरहेका छौं।”
बलात्कारसम्बन्धी मौजुदा कसुर हेरफेर गर्नुपर्ने आवश्यकताबोध आफूलाई पनि भएको तुम्बाहाङ्फे बताउँछिन् । शुक्रबार प्रहरी दिवसका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारसम्बन्धी घटना न्यूनीकरण गर्न सरकारले कडा कानुन ल्याउने बताएका थिए ।




