हुलाकी न्यूज,काठमाडौं : नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समेटेर नक्सा जारी गरेकोलाई चीनसँगको मिलेमतो भनी बात लगाउने भारतका २८ औँ सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे दशैं र तिहारको बीचमा नेपाल आउँदैछन्।
भारतसँग बिग्रँदो कूटनीतिक तथा व्यक्तिगत सम्बन्ध सुधार्ने प्रधानमन्त्री केपी ओलीको योजना अन्तर्गत उनलाई परराष्ट्र मन्त्रालयमार्फत भ्रमणको निम्तो दिइएको हो। सन् २०१९ डिसेम्बरदेखि सेनाध्यक्षको जिम्मेवारी सम्हालेका उनी सन् १९८० देखि सिख लाइट इन्फेन्ट्री रेजिमेन्टको सातौँ बटालियन कमाण्ड गर्दै चीन र पाकिस्तानसँग सीमा विवाद रहेको क्षेत्र जम्मु-काश्मिरमा लामो समय काम गरेका फौजी हुन।
नरवाणे कात्तिक १८ र १९ गते काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममा सहभागी भएपछि तीर्थयात्राका लागि मुक्तिनाथ जाने कार्यक्रम तय भएको परराष्ट्रस्रोतले जनाएको छ। जम्मा तीन रात नेपालमा बिताएर २१ गते फर्कने उनले पूर्वप्रचलनअनुसार राष्ट्रपतिबाट मानार्थ प्रधानसेनापतिको उपाधि ग्रहण गर्ने कार्यक्रम छ। यस्तो उपाधि नेपालका प्रधानसेनापति भारत जाँदा पनि दिने गरिन्छ।
हालका प्रधानसेनापति पूणर्चन्द्र थापाले उताको मानार्थ उपाधि ग्रहण गरिसकेका छन्। खासमा नरवाणे नेपालको नक्सा प्रकरण हुनुपूर्व नै काठमाडौं ओर्लिने कार्यक्रम थियो। कोभिडको विश्वव्यापी महामारीका कारण सात महिनाअघिकै भ्रमण तालिका सरेर अहिलेसम्म लम्बिएको हो। अहिले नेपाल-भारतबीचको संवादहीनताका कारण उत्पन्न समस्या फुकाउने सन्दर्भमा पनि उनको भ्रमण फलदायी हुने अपेक्षासहित नेपाल पक्षको जोडबलमा आउन लागेका हुन्।