हुलाकी न्यूज,काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमण नेपालमा पनि तीव्र रुपमा बढ्दै गएको भन्दै सम्भावित जोखिमलाई मध्यनजर गर्दै यो वर्ष दसैंमा नयाँ नोट सटही सुविधा उपलब्ध नगराउने निणर्य केन्द्रीय बैंकले गर्यो ।
कतिपयले भने बैंकिङ सेवा सुरु भएको अवस्थामा बैंकिङ माध्यमबाट मात्रै भए पनि नयाँ नोट सटही गर्ने व्यवस्था गर्दा सहज हुने भन्ने सुझाव सामाजिक सन्जालमार्फत आइरहेको छ । तर राष्ट्र बैंकले भने आफ्ना पनि कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएको र बैंकहरुमा पनि कर्मचारीमा कोरोना संक्रमण बढ्दै जाँदा नियमति सेवा प्रवाहमै समस्या हुने अवस्था आएको जनाएको छन ।
नेपाल सरकारले पनि नयाँ नोट वितरण गर्दा भिड हुने र जोखिम बढाउने भनेकाले यो वर्ष नयाँ नोट वितरण नगर्ने निणर्य भएको राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले सूचना जारी गर्दै यो वर्ष नयाँ नोट सटही नहुने स्पष्ट पारिसकेको छ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले तोकेको मापदण्डमा बैंकहरुमा बढी भिड हुन दिन नहुने विषय उल्लेख रहेको भन्दै यस्तो निणर्य गरिएको बैंकको सूचनामा भनिएको छ । “यस बैंकमा र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्रमण निकै फैलिएको र नगद सटहीका क्रममा हुने भिडबाट संक्रमण फैलन सक्ने सम्भावना उच्च भएको भएको परिप्रेक्ष्यमा आमनेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै बैंकका कुनै पनि कार्यालयहरुबाट यस वर्षको बडादसैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,” राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।




