हुलाकी न्यूज, काठमाडौंः
राजपा र समाजवादी पार्टीबीच एकीकरण भएको ६ महिनाभन्दा बढी भएपनि पार्टीको समायोजन प्रक्रिया पुरा हुन सकेको छैन।

पार्टीको समायोजन प्रक्रिया पुरा हुन नसक्दा पूर्व राजपा समूह र पूर्व समाजवादी समूहले छुट्टाछुट्टै सभा तथा भेलाहरु गर्न थालेका छन्।

हाल प्रदेश २ र प्रदेश १ केन्द्रीत भेला र सभाहरु भइरहेको छ।

पूर्व समाजवादी पार्टी समूहले सोमबार पर्सा जिल्लाको सखुवा प्रसौनीमा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको थियो।

जसमा पूर्व समाजवादी समूहका नेताहरु डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, समाजवादीका सांसद प्रदिप यादव र हरिनारायण रौनियार सहभागी थिए। कार्यक्रममा करिब ३ सय जनाले पार्टी प्रवेश गरेका थिए।

सोमबार समाजवादी समूहको कार्यक्रम पछि मंगलबार (आज) पूर्व राजपा समूहका नेताहरुले सुनसरीको तरहरामा सभाको आयोजना गरेका छन्। सभामा राजपा समूहका राजेन्द्र महतो, अनिल कुमार झा, परसुराम बस्नेत, संतोष मेहता, विश्वनाथ राजवंशी र केशव झालगायतको सहभागिता रहेको छ।

यसअघि सप्तरीमा पूर्व समाजवादी समूहले कार्यक्रमको आयोजना गरेको थियो। यसै साता महतोको नेतृत्वमा पुनः सप्तरीमा कार्यक्रम हुने तय गरिएको छ।

यसैगरी, सिरहालगायतको जिल्लामा विभिन्न कार्यक्रममा सहभागी भई राजपा समूहका नेता राजकिशोर यादव सोमबार काठमाडौं फर्केका छन्।

असोजको दोस्रो साता राजपा समूहका नेता शरतसिंह भण्डारी पनि महोत्तरीमा विभिन्न कार्यक्रममा सहभागी भएका थिए।
यसै साता धनुषामा पनि जसपा नेताहरुको कार्यक्रम तय गरिएको छ। धनुषाको सबैलामा आयोजना हुने सभालाई महन्थ ठाकुर, राजेन्द्र महतो र अनिल झासहित पूर्व राजपाका नेताहरुले सम्बोधन गर्ने देखिएको छ।

पूर्व समाजवादी पार्टीका महासचिव रामसहाय प्रसाद यादवले सबै जिल्लाहरुमा जसपाकै कार्यक्रम भइरहेको दाबी गरे। उनले भने,‘कुनै गुटगत कार्यक्रम भइरहेको छैन। नेतृत्वले आफु अनुकुलको ठाउँहरुमा कार्यक्रम गरिरहेको छ।’

पूर्व राजपाका महासचिव केशव झाले भने,‘पार्टीमा धेरै नेता भएपछि धेरै ठाउँमा कार्यक्रम हुनु स्वभाविक हो। तत्कालिन राजपाका शीर्ष नेतृत्व गएको ठाउँमा समाजवादीका जिल्ला नेताहरु पनि सहभागी हुने गरेका छन् भने तत्कालिन समाजवादीका शीर्ष नेतृत्वहरु गएको ठाउँमा राजपाका जिल्ला नेताहरु सहभागी हुने गरेको छ।’

जसपा स्रोतका अनुसार पार्टीको समायोजन प्रक्रिया र महाधिवेशन प्रक्रियालाई प्रभावित पार्न दुबै समूहले आफु अनुकुल पार्टी प्रवेश कार्यक्रमलाई तीब्रता दिएको हो।

यसअघि दुबै पूर्व पार्टीका नेताहरुको संयुक्त कार्यक्रम गर्ने तय भएको थियो। तर, शीर्ष नेताहरुबीच मञ्च सेयर गर्न कठिन भएपछि दुबै समूहका नेताहरुले छुट्टाछुट्टै सभा गरिरहेका छन्। शीर्ष नेतृत्व महाधिवेशनलाई केन्द्रमा राखेर मैदानमा उत्रेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.