वीरगंज, ९ कार्तिक । भारतीय सीमा सुरक्षा बलले दशगजा क्षेत्रमा तस्बिरसमेत लिन दिँदैन। तर वीरगन्ज नाकाको दशगजामा मधेसी दलले एक महिनादेखि धर्ना दिइरहेका छन्। प्रमुख नाका वीरगन्ज (रक्सौल) महिना दिनदेखि ठप्पै छ। यहाँबाट आयातनिर्यात ठप्प भएपछि त्यसको असर मुलुकभर परेको छ।

असोज ७ देखि जारी धर्ना आइतबार ३२ औं दिन पनि जारी रह्यो। आपूर्ति ठप्प पारेर राज्यलाई गलाउन आन्दोलनकारीले २४ सै घण्टा धर्नामा बसेको दाबी गरेका छन्।  दशगजामा रहेको मितेरी पुलमा चारवटा पाल टाँगिएको छ। त्यहीमुनि आन्दोलनकारी बस्छन्। राति सुत्नका लागि केही नेता/कार्यकर्ताले घरबाट ओढ्ने–ओछ्याउने ल्याएका छन्। लामखुट्टेबाट जोगिन कहिले झुलसमेत प्रयोग गर्न थालेका छन्।  केही प्रभावशाली नेता बिहान शौच गर्न सीमापारि नातेदारको घरमा जान्छन्।  कोही नित्यकर्मका लागि वीरगन्ज फर्किन्छन्।  सद्भावना अध्यक्ष राजेन्द्र महतो सीमापारि रक्सौलमा रहेको काभेरी होटलमा सुत्छन्।

दिनको केही घण्टा छलफलमा बिताउने महतो अहिले अधिकांश समय बारा र पर्साका विभिन्न गाउँमा विरोधसभा र पार्टी प्रवेश कार्यक्रम गर्न थालेका छन्। उनको यस कार्यको संघीय समावेशी मधेसी मोर्चाले पत्रकार सम्मेलन गरी विरोधसमेत जनाइसकेको छ। ‘अन्य मधेसवादी दलका नेता/कार्यकर्ता धर्नामा बस्छन्,’ मोर्चाका एक नेताले भने, ‘उनी दिनभरि गाउँ घुमेर वाहवाही लुटिरहेका छन्।’

जारी मधेस आन्दोलनको केन्द्र बनेको वीरगन्ज नाकामा मधेसवादी दलका सबै केन्द्रीय नेता पालैपालो आएर धर्नामा बसिसकेका छन्। बिहान नित्यकर्म सकिनासाथ धर्नास्थलमा नास्ता र मिनरल वाटर आइपुग्छ। भारतीय जनता पार्टीका समर्थक रक्सौलका व्यापारी महेशकुमार अग्रवालको गोदाम परिसरमा सञ्चालित मेसमा कार्यकर्ता बिहान र साँझको खाना खान्छन्। खाना पकाउन सिफ्ट अनुसार करिब दर्जन कामदार अग्रवालले परिचालन गरेका छन्। धर्नामा बस्ने आन्दोलनकारीका लागि पर्सा र बाराका विभिन्न जातीय संगठन, संघसंस्थाले समेत पानी, चामल र नगद सहयोग गरेका छन्।

वीरगन्ज भन्सार कार्यालयबाट २ सय मिटरदेखि सुरु हुने दसगजा क्षेत्र भएर बग्ने सिर्सिया खोलामाथिको पुलमा आन्दोलनकारी धर्नामा बसेका हुन्। पछिल्लो २ सातायतादेखि धर्नामा सहभागिता जनाउनका लागि बारा र पर्साका विभिन्न गाउँबाट सयौं ट्याक्टरमा बसेर सर्वसाधारण आउन थालेका छन्। वीरगन्जमा सञ्चालित केही एफएममा घण्टैपिच्छे विज्ञापन बजाएर जारी धर्नामा सहभागिता जनाउन आह्वान गरिएको हुन्छ। यादव, तेली, चौरसिया, चौहान, राजपुत, कुर्मी, मुस्लिम, दसनामी लगायतका विभिन्न जातीय समूहको आह्वानमा सहभागिता जनाउन उर्दी जारी हुन थालेको छ।

गाउँबाट आएका सर्वसाधारण वीरगन्जको पावरहाउस र घण्टाघर चोकमा भेला भएर ट्याक्टरमा चर्को ध्वनिमा आन्दोलनसम्बन्धी गीत घन्काएर तेस्रो लिंगीलाई नचाउँदै, नाच्दै नगर परिक्रमा गर्दै धर्नास्थल पुग्छन्। धर्नास्थलमा मान्छे झारेपछि ट्याक्टर चालक पारिपट्टि (भारतमा) गएर ट्यांकीमा डिजेल भरेर फर्कन्छन्। अधिकांश ट्याक्टरले इन्धन ओसार्न गाउँबाट ठूल्ठूला जर्किन बोकेर आउने गरेका छन्। सुरक्षाका दृष्टिले संवेदनशील मानिने दसगजा प्रदर्शनस्थलमा परिणत मात्र भएको छैन, गाउँबाट खुकुरी, खुँडा र तरबार जस्ता घरेलु हतियार हातमा लिएर आएका प्रदर्शनकारी वीरगन्जमा प्रदर्शन गर्दै दशगजासम्म पुग्छन्।

नाकाबन्दीको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रका बासिन्दाले इन्धन तस्करी थालेपछि धर्नाकारीले कडाइ गरेका छन्। ‘मितेरी पुल भएर वीरगन्ज भित्रिने मोटरसाइकलको मिटर र ट्यांकी चेक गर्छन्,’ रक्सौलका रन्जित श्रीवास्तवले भने, ‘बढी भए त्यही पोखाइदिन्छन्।’ आइतबार साँझ नम्बर नखुलेको एक मोटरसाइकलमा बढी पेट्रोल भएको भन्दै ट्यांकीमै सलाई कोरेर जलाइदिए। आन्दोलनरत दलकै केही युवा कार्यकर्ताहरू इन्धन र एलपी ग्यास तस्करीमा संलग्न रहेको स्रोतको दाबी छ।

धर्नाका कारण मुलुकमा इन्धन अभाव चुलिएको छभने पारि रक्सौलमा नेपालका लागि सामान बोकेर आएका मालवाहक सवारीको २५ किलोमिटरसम्म लाइन छ । तेस्रो मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुँदै नेपाल भित्रिने कन्टेनरसमेत अलपत्र छन्। मालवाहक सवारी र कन्टेनर गरी यो नाकामा करिब ४ हजार सवारीसाधन रोकिएको भन्सारले जनाएको छ। – कान्तिपुरबाट

1 COMMENT

  1. हैन यो आन्दोलनमा मैले नबुझेको गज्जबको कुरा :

    यत्रो दिन आन्दोलन भईसक्यो, मोर्चामा आवद्ध विभिन्न तराई सम्बद्ध राजनैतिक दलहरुले आन्दोलनको नाममा गाउं गाउंबाट मानिसहरु ल्याएका छन् । उता वार्ता पनि भईरहेको छ । तर यत्रो दिन सम्म आन्दोलन गर्नेहरु अहिले सम्म एउटै छानो मुनी आउन नसक्नु कति सम्मको विडम्बना हो ? यदी सामुहिक माग छ सामुहिक सोच छ भने सबै तराईका पार्टीहरु मिलाएर सिंगो एउटा मात्र पार्टी किन बनाउन नसकेको हो ? आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन पनि एकताको जरुरी छ तर अहिले मोर्चामा जम्मा भएर देखाएको यो झुटो एकता भोली पुन सत्तामा पुग्दा ७ चिरा परिहाल्छ भन्ने सबैलाई थाहै छ । यत्रो समय आन्दोलन गर्ने र व्यक्ती पिच्छे माग फरक हुने गरेर तराईका जनतालाई तराईका नेताहरु फेरी ठग्दैछन् । सबै तराईको हित चाहन्छन् भने तराईका जनताको लागी किन सबै एउटै बलियो पार्टी बनाउन सकिरहेका छैनन् । त्यसैले यो आन्दोलनको नाटक गरेर नेताहरु सत्तामा पुग्ने खेलमा लागेको कुरा प्रष्ट हुन्छ जुन कुरा स्थानिय जनताले किन नबुझेको हो ? आन्दोलनाई नेतृत्व गर्नेहरुकै फेरी पुत्ला पनि जलिरहेको छ ठाउं ठाउं मा जसले गर्दा के प्रष्ट छ भने यो आन्दोलनको जरा कतै अन्तै छ हांगा कतै अन्तै छ । नत्र सबै मधेशी नेताहरु मिलेर एउटै पार्टी किन अहिले सम्म गठन गर्न सकेका छैनन् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.