
हुलाकी न्यूज, काठमाडौं: चीनबाट नेपाली भूमी जोगाउन भारत सरकारको सहयोग लिनु पर्ने निवर्तमान सांसद सरिता गिरीले बताएकी छिन्।
चीनले नेपालको ६ वटा जिल्लाको भूमी कब्जा गरेको दाबी गर्दै गिरीले नेपाली भूमी रक्षाका लागि भारतीय सहयोग आवश्यक रहेको बताएकी हुन्।
तराई मधेश वृहत्त लोकतान्त्रिक मोर्चाको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै गिरीले सीमा स्तम्भको अनुगमन गर्न गएको नेपाली टोलीमाथि आक्रमण भएकोमा विरोधसमेत गरेकी छिन्।
विज्ञप्तिमा गिरीले भनेकी छिन्, ‘यही असोझ २३, २०७७ मा विभिन्न संचार माध्यममा आएका खबर अनुसार नेपाल चीन सीमानामा रहेका सीमा स्तम्भको अनुगमन गर्न गएको नेपाली टोली ५,६,७ र ८ को अनुगमन गरी ९ नम्बरको सीमास्तम्भ नजिक पुगेपछि चिनिया सुरक्षाकर्मीले नेपाली भूभागमा प्रवेश गरी अनुगमन टोलीमाथि अश्रु ग्याँस प्रहार गरेका छन् र उक्त आक्रमणमा नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लाम्बा सामान्य घाइते पनि हुनु भएको छ। चिनियाँ सरकारको यस्तो आक्रमणकारी नीतिको हामी घोर विरोध गर्दछौं। साथै यस घटना बारे सरकारले तुरन्त जनतालाई आधिकारिक जानकारी गराउन मांग गर्दछु।’
‘नेपाल सरकारले मुलुकको उत्तरी सीमानाको सुरक्षा गर्न सकिरहेको छैन भन्ने कुरा प्रष्ट हुंदै गइरहेको छ। सगरमाथामाथि पनि चीनले अधिपत्य जमाई सकेको कुरा संचारमाध्यममा आएका छन् तर सरकारले यस विषयमा पनि अहिलेसम्म मौनता धारण गरेको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘हिमाली भेगका ६ जिल्लामा चीनले नेपालको भूभाग कब्जा गरेको विभिन्न सरकारी आँकडाले पनि देखाई रहेको छ। यस परिस्थितिमा यदि नेपाल सरकार स्वयं नेपाल चीनबीचको उत्तरी सीमानाको सुरक्षा गर्न सकिरहेको छैन भने सरकारले १९५० को भारतसंग को मित्रता र शान्ति सहमति अनुसार भारत सरकारको सहयोग लिई पनि सीमानाको सुरक्षा गर्न मांग गर्दछु।’
यसैगरी गिरीले डां गोविन्द केसीको अनशनप्रति पूर्ण समर्थन जनाउंदै सरकारले विगतमा डा.केसीसंग गरेका सम्पूर्ण सहमतिको पालना गर्न आग्रह गरेकी छिन्।



